सशस्त्र प्रहरीको समुदाय विपद् स्वयंसेवक तालिम सम्पन्न
सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हे.क्वा. झापाले मेचीनगरमा आयोजना गरेको १८ दिने “समुदाय विपद् स्वयंसेवक तालिम” सम्पन्न भएको छ ।
मेचीनगर नगरपालिकाको सहकार्यमा गत पुस ९ गतेदेखि सुरु भएको सो तालिममा नगरपालिकाका नगर प्रहरी १५ जना, दमकल चालक एकजना तथा विभिन्न वडाबाट ११ जना गरी जम्मा २७ जना प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिइएको थियो। जसमा ४ जना महिला र २३ जना पुरुष सहभागी रहेको सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हे.क्वा. झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक रोहितबहादुर घिमिरेले जानकारी दिएका छन् ।
झापाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष शिवराम गेलालको प्रमुख आतिथ्य तथा सशस्त्र प्रहरी बल, नेपाल नं. १ वराह बाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेको विशिष्ट आतिथ्य रहेको समापन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बू, सशस्त्र प्रहरी बल, नेपाल नं.२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका प्रमुख उप–अनुसन्धान निर्देशक उमेश पाण्डे, विभिन्न वडाका वडा अध्यक्षहरू, पत्रकार तथा स्थानीयहरूको उपस्थिति रहेको थियो ।
उक्त तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई जल उत्पन्न प्रकोपमा गरिने उद्धार, भत्केको संरचनामा गरिने खोज तथा उद्धार, आगलागी नियन्त्रण, सवारी दुर्घटनामा गरिने उद्धारलगायत विभिन्न प्रकारका विपद्मा गरिने उद्धारसम्बन्धी सैद्धान्तिक एवम् व्यवहारिक ज्ञान प्रदान गरिएको थियो। समापन कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूले आगलागी नियन्त्रणसम्बन्धी डेमोस्ट्रेसन प्रदर्शन गरेका थिए। प्रशिक्षार्थीहरूलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिद्वारा प्रमाणपत्र वितरण गरिएको थियो।
समापन कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष गेलालले आफ्नो मन्तव्य राख्ने क्रममा यस क्षेत्रमा विभिन्न प्रकारका प्राकृतिक तथा मानव सृजित विपद्को जोखिम उच्च रहेकाले त्यस्ता चुनौतीहरूलाई सामना गर्न समुदाय स्तरमै दक्ष जनशक्ति उत्पादन गर्नु एक महत्त्वपूर्ण उपलब्धि भएको बताए । उनले प्रशिक्षार्थीहरूले समुदाय स्तरमा विपद्को समयमा तालिममा सिकेका व्यवहारिक एवम् सैद्धान्तिक ज्ञानलाई विपद्को समयमा उद्धार कार्यमा परिचालित भई क्षतिको न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
विशिष्ट अतिथि सशस्त्र प्रहरी बल,नेपाल नं. १ वराह वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक न्यौपानेले आफ्नो मन्तव्य राख्दै यस किसिमको तालिमले विपद् व्यवस्थापनको लागि सरोकारवाला निकायहरू परिचालित भएको अवस्थामा आवश्यक समन्वय र सहकार्य गर्न परिचालनलाई अझ प्रभावकारी ढङ्गले व्यवस्थित गर्न सकिने तथा विपद्बाट हुन सक्ने क्षति कम गर्न सकिने विश्वास व्यक्त गरेका थिए ।