२०८२ माघ ५ गते , सोमबार

झापाका सीडीओलाई थर्काउने अभय राजवंशीसहित तीनजना डान्सबारबाट पक्राउ

sajilo news
झापा
२०८२ माघ १ गते , विहीबार
झापाका सीडीओलाई थर्काउने अभय राजवंशीसहित तीनजना डान्सबारबाट पक्राउ

झापाका सीडीओलाई थर्काउने अभय राजवंशीसहित तीनजना पक्राउ परेका छन् । गएराति १०.३० बजे बिर्तामोड-१ स्थित नाइटलाईफ डान्सबारबाट प्रहरीले कनकाई-९ बस्ने ४४ वर्षीय अभय राजवंशी, नाइटलाइफ डान्सबारकी सञ्चालिका ४२ वर्षीया नबिना राजवंशी र बिर्तामोड १ बस्ने ४१ वर्षीय रमेश राजवंशीलाई पक्राउ गरेको हो ।

पुस २९ गते राजवंशी समाज विकास समितिको नाममा अभय राजवंशीले डोमालाल राजवंशी रंगशालामा भाक्का दिवस मनाउने क्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई अपशब्द प्रयोग गरेका थिए । त्यस विषयमा सोधपुछ गर्न जिल्ला प्रशासन कार्यालय झापाले हिजो दिउँसो ३ बजेभित्र उपस्थित गराइदिन प्रहरीलाई पत्र पठाएको थियो । जिल्ला प्रशासन कार्यालय झापाको पत्र आदेश अनुसार इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी वरिष्ठ नायव निरीक्षक देवराज निरौलाको टोलीले डान्स बारमा रहेका अभयलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिने क्रममा नबिना राजवंशी र रमेश राजवंशीले खटिएको प्रहरी टोलीलाई अभद्र व्यवहार गरेको भन्दै उनीहरूलाई पनि पक्राउ गरेको थियो । तीन जनालाई नियन्त्रणमा लिई इप्रका बिर्तामोडमा लगिएकोमा अभय र नबिनालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको थियो । रमेशलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा नै राखिएको छ ।

यसैबीच राति १२.३५ बजे नबिना राजवंशीलाई आवश्यक परेको बखत उपस्थित हुने गरी उनका श्रीमान् भरत राजवंशीको जिम्मा लगाई पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार