सीडीओसँग माफी मागेपछि अभय राजवंशी रिहा
झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलाललाई अपशब्द प्रयोग गरेका कारण पक्राउ परेका अभय राजवंशी रिहा भएका छन् ।
अब आइन्दा त्यस्तो गल्ती नगर्ने सर्तमा माफी मागेपछि उनलाई रिहा गरिएको हो । अबदेखि त्यस्तो गल्ती नगर्ने भन्दै माफी मागेपछि रिहा गरिएको प्रमुख जिल्ला अधिकारी गेलालले बताए । त्यस विषयमा जिल्ला प्रशासन कार्यालयमा छलफल राखिएको थियो । जिल्ला प्रशासन कार्यालयमा मौखिक माफी मागेका राजवंशीले जिल्ला प्रहरी कार्यालयमा लिखित रुपमा माफी मागेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिए । उनलाई माफी मगाउँदै आइदा कानुन उल्लङ्घन गर्न पनि लिखित गराइएको डीएसपी खडकाले बताए ।
गएराति साढे १० बजे बिर्तामोड-१ स्थित नाइटलाईफ डान्सबारबाट प्रहरीले कनकाई ९ बस्ने ४४ वर्षीय अभय राजवंशी, नाइटलाइफ डान्सबारकी सञ्चालिका ४२ वर्षीया नबिना राजवंशी र बिर्तामोड १ बस्ने ४१ वर्षीय रमेश राजवंशीलाई पक्राउ गरेको थियो ।
पुस २९ गते राजवंशी समाज विकास समितिको नाममा अभय राजवंशीले डोमालाल राजवंशी रंगशालामा भाक्का दिवस मनाउने क्रममा प्रमुख जिल्ला अधिकारी गेलाललाई अपशब्द प्रयोग गर्दै थर्काएका थिए ।
त्यस विषयमा सोधपुछ गर्न जिल्ला प्रशासन कार्यालयले हिजो दिउँसो ३ बजेभित्र उपस्थित गराइदिन प्रहरीलाई पत्र पठाएको थियो । जिल्ला प्रशासन कार्यालय झापाको पत्र आदेश अनुसार इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी वरिष्ठ नायव निरीक्षक देवराज निरौलाको टोलीले डान्स बारमा रहेका अभयलाई नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिने क्रममा नबिना राजवंशी र रमेश राजवंशीले खटिएको प्रहरी टोलीलाई अभद्र व्यवहार गरेको भन्दै उनीहरूलाई पनि पक्राउ गरेको थियो ।