दुर्घटनामा श्रीमती र छोरी गुमाएका आफुद आइसियुमा जीवनसँग लड्दै, त्यही राति हात्तीले भत्काइदियो घर
झापा । भद्रपुर नगरपालिका–७ बासिलाल चोक निवासी ४० वर्षीय आफुद राजवंशीको जीवनमा ठूलो बज्रपात परेको छ । अस्पतालको आइसियुमा जीवनसँग लडिरहेका आफुदले सवारी दुर्घटनामा आफ्ना ४० वर्षीया श्रीमती सुस्मा र दुई वर्षीया छोरी आरुतीलाई गुमाए ।
दुर्घटनामा घाइते भएका १४ बर्षीया छोरा आशिष् पनि अस्पतालमा उपचाररत छन् । क्षणभरमै आफुदको चार जनाको सुन्दर परिवार विखण्डन भयो । श्रीमती र छोरीले संसार छाडेर गएको चौबिस घण्टा नबित्दै आफुदमाथि अर्को बज्रपात पनि थप्यो । उनीहरू बस्ने घर जङ्गली हात्तीले गएराति भत्काइदिएको छ । १० धुर जमिनमा बसोबास गर्दै आइरहेको आफुदले टाँटी बेरा र टिनाले बनाएको छाप्रो घर जङ्गली हात्तीले भत्काई घरभित्र रहेको अन्नबाली खाएर क्षति पु¥याइदिएको छ ।
मकर ९माघी० स्नान गर्न कनकाई माई मेला जाँदै गरेका उनीहरू सवार गाडी दुर्घटनामा परेको थियो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका ३ नयाँ बस्ती नजिकै बिहीबार बिहान साढे ९ बजेको समयमा बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे १ च ४५१५ नम्बरको पिकअप भ्यान माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना ५ ख २१४९ नम्बरको यात्रुवाहक बससँग ठोकिँदा दुर्घटना भएको थियो । भ्यान चालकबाहेक १३ जना सवार थिए । दुर्घटनामा परेका घाइतेहरूलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पु¥याइएकोमा बालिका आरुतीलाई डक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । त्यसको केही समय पश्चात् बालिकाकी आमा सुस्माको पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ११ जना घाइतेहरूमध्ये सुस्माकी श्रीमान् आफुदको अवस्था भने चिन्ताजनक रहेको छ ।
दुर्घटनाको घटना बारे थाहा पाए लगतै हामी बिर्तामोडतर्फ लाग्यौँ । अस्पतालबाट साँझ ६ बजेतिर घर आइपुगेको मृतक सुस्माकी जेठी माइजू रुकमति राजवंशीले बताइन् । बिर्तामोडबाट घर फर्किएर भान्जी ज्वाइँको घर अन्धकार देखेर दियो बोलेर आयौँ । परिवारमा यस्तो बज्रपात परेपछि मन चिन्तित भयो । राति खाना खान मन लागेन । त्यतिकै सुत्यौँ । ‘एक्कासि मध्यरातमा ठूलो आवाज आयो, बाहिर निस्किएर हेर्दा एउटा जङ्गली हात्ती आएको रहेछ,’ रुकमतिले भनिन्, 'मनमा झन् त्रास छायो, हात्तीले भान्जी ज्वाइँको घर भत्काउँदा ठूलो आवाज आएको रहेछ भनेर थाहा भयो ।’
त्यहाँबाट गइसकेको हात्ती १० मिनेट पछि फेरि फर्किएर आयो । फेरि त्यही घर भत्काएर गयो । त्यस बेला प्रहरीलाई बोलाउनु पर्थ्यो भनेर दिमागले पनि काम गरेन । यतिका वर्षसम्म यहाँ कहिले हात्ती आएको थिएन । हात्ती गाउँमा निस्किदा पनि अन्य बाटो भएर जान्थ्यो । हात्ती राति फेरि आउँछ कि भनेर मनमा डर लागिरह्यो । ‘हात्तीले घर भत्काएर धान खायो,’ उनले भनिन्, ‘हात्तीको खुट्टाको पाइला घरभित्रै सम्म थियो, घरभित्र मान्छे भएको किचेर मान्र्थो होला भन्ने पनि लाग्यो । ’भान्जीको परिवारमा यत्रो ठूलो बज्रपात परेको बेला हात्तीले पनि नछाडेको उनले बताइन् ।
उनका अनुसार आफुद काठ मिस्त्रीको काम गर्थ्यो । ६ महिना भयो बैंकबाट ऋण झिकेर सिटी सफारी किनेको । आफुदको देब्रे खुट्टामा समस्या थियो । उभिन र हिँड्न नसकेर उनले काठ मिस्त्रीको काम छाडे । सिटी चलाउँदा पनि उनको खुट्टामा समस्या हुन्थ्यो । तर, चार जनाको परिवार पाल्ने जिम्मेवारी काँधमा रहेकोले सिटी चलाउनु पर्ने बाध्यता उनको थियो ।
बिहान ८ बजे आफ्नै सिटी चढेर परिवारका चारै जना घरबाट निस्किएका थिए । माई मेला जादैछु भनेर मसँग भेट हुँदा पनि भनेनन् । दुर्घटनामा परेको खबर पाएपछि मात्र थाहा भयो उनीहरू माई मेला हिँडेको भनेर । सिटी गरामनीस्थित दिदीको घरमा राखेर अन्य आफन्तजनसहित पिकअप भ्यान चढेर माई जाँदै गर्दा भ्यान दुर्घटना परेको उनले सुनाइन् । भान्जी र नातिनीको शव बिएण्डसी अस्पतालमै छ । उनीहरूलाई दागबत्ती दिनेहरू पनि अस्पतालमा उपचाररत रहेकोले शव नल्याएको हो । अब परिवारका अन्य सदस्यहरूसँग छलफल गरेर मात्र शव ल्याउने उनले बताइन् । आफुदको परिवारमा परेको घटनाले वडा नै स्तब्ध र शोकाकुल भएको भद्रपुर ७ नम्बर वडाध्यक्ष अभिषेक ढुङ्गानाले बताए ।
दैवको लीला पनि मान्नुपर्छ । सोही घरमा त्यस्तो घटना घटेको बेला हात्तीले पनि त्यही घरलाई रोजेर आक्रमण गरेकोले अझ दुःखी बनाएको उनले बताए । घरको अगाडि भाग हात्तीले भत्काएको देखिन्छ । आफुदमा परेको बज्रपातले वडा पनि अछुत नभएको बताउँदै वडाध्यक्ष ढुङ्गानाले भने, ‘जनताको लागि बनेको स्थानीय सरकारले जनतालाई आपद् विपद्मा सहयोग नगर्ने भन्ने हुँदैन, वडा तथा नगरपालिकाले पनि सहयोग गर्छ ।’