दुबईमा इलेक्ट्रिक एयर ट्याक्सी सेवा यसै वर्षदेखि सुरु हुने
दुबई । दुबईको सडक तथा यातायात प्राधिकरण (आरटिए) ले ‘जोबी एभिएसन’द्वारा विकसित अत्याधुनिक इलेक्ट्रिक एयर ट्याक्सी सेवा सन् २०२५ को अन्त्यसम्ममा व्यावसायिकरूपमा सञ्चालनमा ल्याउने घोषणा गरेको छ । आरटिएका अध्यक्ष मत्तर अल टायरका अनुसार जुन २०२५ मा सफल परीक्षण उडान सम्पन्न भएपछि अब सेवा पूर्णरूपमा लागू गर्ने तयारी तीव्र पारिएको छ । क्यालिफोर्नियास्थित जोबी एभिएसन कम्पनीले दुबईमा आगामी ६ वर्षसम्म एयर ट्याक्सी सञ्चालन गर्ने विशेष अधिकार प्राप्त गरेको छ ।
यी एयर ट्याक्सीहरू पूर्णरूपमा विद्युतीय प्रविधिमा आधारित छन् । यसबाट कुनै पनि हानिकारक ग्याँस उत्सर्जन नहुने भएकाले घना शहरी क्षेत्रका लागि यो वातावरणमैत्री तथा कम आवाज हुने सुरक्षित यातायात विकल्पका रूपमा लिइएको छ ।
एयर ट्याक्सीले एकपटकमा अधिकतम १६० किलोमिटरसम्मको दूरी तय गर्न सक्ने र यसको उच्चतम गति प्रतिघण्टा ३२० किलोमिटर रहेको जनाइएको छ । यस सेवाले दुबईको यात्रामा लाग्ने समय उल्लेखनीयरूपमा घटाउने अपेक्षा गरिएको छ ।
आरटिएले दिएको उदाहरणअनुसार हाल कारबाट दुबई इन्टरनेसनल एयरपोर्टदेखि पाम जुमेराहसम्म पुग्न करिब ४५ मिनेट लाग्ने भए पनि एयर ट्याक्सी प्रयोग गर्दा यो दूरी मात्र १० देखि १२ मिनेटमै पूरा गर्न सकिनेछ । दुबईले स्मार्ट शहर निर्माणको दिशामा लिएको नीतिअन्तर्गत यो परियोजनालाई भविष्यको दिगो र आधुनिक यातायात प्रणालीको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । रोयटर्स