मेची रंगशालामा झापा औद्योगिक महोत्सव सुरु
भद्रपुरस्थित मेची रंगशालामा आजदेखि झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव–२०८२ सुरु भएको छ । झापा उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले गरेका हुन् । आजदेखि सुरु भएको माघ २१ गतेसम्म सञ्चालन हुनेछ ।
उद्घाटन कार्यक्रममा महोत्सवको औचित्यमाथि प्रकाश पार्नुहुँदै झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक राजकुमार राईले जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि महोत्सव आयोजना गरिएको बताए ।
जिल्लाको उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपक्षी र पर्यटन क्षेत्रको प्रवर्द्धनमा टेवा पु¥याउनुका साथै आन्तरिक बजार सबलीकरण, व्यावसायिक उत्थान तथा निकासीयोग्य वस्तुमा जोड दिने मध्यकालीन लक्ष्यसहित महोत्सव आयोजना गरिएको उनले बताए ।
‘समृद्धिको आधार, आर्थिक विकास, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नारासहित आयोजित महोत्सवमा लागि एक सय ३० वटा स्टल निर्माण गरिएको छ । महोत्सवमा एक लाख बढी अवलोकनकर्ताको सहभागिता तथा रू १० करोडभन्दा बढीको कारोबार हुने आयोजकको अपेक्षा छ ।
महोत्सवमा स्थानीय कृषि उत्पादनहरूलाई विशेष महत्त्व राखी कृषि उत्पादन, बीउबीजन तथा मलखाद, कृषि औजार, प्रविधि तथा यन्त्र, जडीबुटी तथा औषधि, पर्यटन तथा शैक्षिक संस्था, छाला तथा छालाका सामानहरू, गार्मेन्ट तथा जुत्ता चप्पल, गलैँचा तथा पश्मिना, सौर्य ऊर्जा तथा जल विद्युत्, मोबाइल तथा सूचना प्रविधि, घरजग्गा तथा निर्माण सामग्री, बैङ्क तथा वित्तीय संस्था, फनिर्चर तथा फनिसिङ, दैनिक उपभोग्य सामानलगायतका वस्तु प्रदर्शनी तथा कारोबारका लागि राखिएका छन् ।
महोत्सवलाई आकर्षक बनाउन सेल्फीजोन, मनोरञ्जनात्मक खेल तमासा, स्थानीय, राष्ट्रियस्तरको साङ्गीतिक र हास्यव्यङ्ग्य प्रस्तुति, स्थानीय गीत तथा नृत्य र सांस्कृतिक कार्यक्रम, वाल उद्यान, विभिन्न जातजातिको सांस्कृतिक, परम्परागत प्रदर्शनी राखिएको छ । महोत्सव उद्घाटन कार्यक्रममा विभिन्न जातजातिको झाँकीसमेत प्रदर्शन गरिएको छ ।