२०८२ माघ २१ गते , बुधबार

कनकाई पुल निर्माण नहुँदा हुलाकी राजमार्ग प्रयोगमा कठिनाई

sajilo news
झापा
२०८२ माघ ११ गते , आईतबार
कनकाई पुल निर्माण नहुँदा हुलाकी राजमार्ग प्रयोगमा कठिनाई

बिर्तामोड । हुलाकी सडक खण्डमा पर्ने कनकाई माईमा पुल निर्माण नहुँदा भद्रपुर–विराटनगरको यात्रा कठिनाई भएको छ । झापाको भद्रपुरदेखि सुरु हुने हुलाकी राजमार्गमा पुल अधुरो रहेकै कारण विराटनगरसम्मको करिव ९१ किलोमिटर लामो यात्रा कठिनाई बनेको हो ।

७२५ मिटर लामो कनकाई नदीमाथिको पुल निर्माण पुरा नहुँदा हुलाकी राजमार्गको प्रयोग नै प्रभावित भएको छ । सरकार र निर्माण व्यवसायीको चरम लापरवाहीले शिकार बनेको पुलको ठेक्का वर्तमान सरकारले तोडेको छ ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले भद्रपुर–रंगेली–विराटनगर खण्डका सबै पुल निर्माण सकिएको र कनकाईका पुल मात्रै बाँकी रहेको जनाएको छ ।

सो स्थानमा बाँसको पुल बनाएपछि आवतजावतमा सर्वसाधारणलाई सहजता भएको छ । गौरीगञ्ज र झापा गाउँपालिका जोड्ने पक्की पुल निर्माण नभएपछि सर्वसाधारणले बाँसकै पुल प्रयोग गर्न बाध्य भएका छन् ।

हुलाकी सडकखण्ड अन्तर्गत झापाको गौरिगञ्ज –१ र झापा गाउँपालिका–२ जोड्ने कनकाई नदीमा कात्तिक महिनाको पहिलो हप्ता बाँसको पुल बनाइएको थियो । त्यसअघिको बाँसको पुल बाढीले बगाएको थियो । १४ वर्षदेखि निर्माण भइरहेको पक्की पुल निर्माण पुरा नभएपछि स्थानीय युवाले आवतजावतमा सहजीकरण गरेका हुन् । उनीहरुले बाँसको पुल बनाएपछि पैदल यात्रुलाई खोला वारिपारी गर्न सजिलो भएको छ । पुलबाट मोटरसाइकल र साइकल समेत वारीपारी गर्ने व्यवस्था मिलाइएको छ ।

प्रत्येक वर्ष हिउँदमा बाँसको भाटाको पुल बनाएर आवातजावत गरिए पनि पानीको बहाव धेरै भएको समयमा डुङ्गाबाटै तारिने गरिएको छ । बाँसको भाटाको पुल नहुँदा वारीपारी गर्न पूर्वपश्चिम राजमार्गको माइधार पुगेर दक्षिण जानुपर्ने हुन्छ ।
अहिले बाँसको पुलबाट सर्वसाधारण आउजाउ गर्दै आएका छन् । त्यसको प्रयोग वापत प्रति व्यक्ति २०, साइकलसहित ३० र मोटर साइकलसहित ५० तिर्नुपर्छ ।

हुलाकी सडकको पूर्णरुपमा प्रयोग गर्न कनकाई माईको पुल निर्माण हुनुपर्ने स्थानीयको भनाई छ । यदि पुल बन्ने हो भने भद्रपुरबाट बढीमा अढाई घन्टाको यात्रामा विराटनगर पुग्न सकिन्छ ।

एसियन हाइवे निर्माणका क्रममा धुलोबाट सुरक्षित हुन चारचक्के बाहेकका सयौं नागरिकले हुलाकी सडक प्रयोग गर्दै आएका छन् । बिर्तामोडबाट गोलधाप–राजगढ–झापा बजार हुँदै गौरीगञ्ज जाने गरिएको छ ।

२०६८ साल जेठ १४ मा पप्पु–महादेव–खिम्ती जेभी कम्पनीले करिव ३३ करोडमा कनकाई पुल निर्माणको ठेक्का पाएको थियो । २०७२ सालसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु भएको यो पुल पाँच पटकसम्म म्याद थप भइसकेको छ ।

२०७५ मा पप्पुले निर्माण साझेदारी छाडेपछि महादेव खिम्ती एक्लैले काम गर्दै आएको थियो । हालसम्म १९ मध्ये १० वटा स्तम्भ (स्पान) निर्माण भइसकेको छ भने बाँकी ९ वटा स्पान निर्माण गरी पुल सम्पन्न गर्न म्याद थपको माग गरिएको थियो । सरकारले म्याद थपको सट्टा ठेक्का नै तोडेको छ । ६५ प्रतिशत काम सम्पन्न भइसकेको सो पुल निर्माण अन्योलता बढेको छ । झापाको भद्रपुरदेखि पश्चिम कञ्चनपुरको दोधारा–चाँदनीसम्म फैलिने यो राजमार्गले तराईका २० वटा जिल्लालाई दुई लेनको सडकमार्गद्वारा जोड्नेछ ।

सम्बन्धित समाचार