कोलकाताका दुई गोदाममा भीषण आगलागी, कम्तीमा आठजनाको मृत्यु
पश्चिम बंगालको राजधानी कोलकाताको आनन्दपुर क्षेत्रमा सोमबार दुईवटा गोदाममा भएको भीषण आगलागीमा कम्तीमा आठजनाको मृत्यु भएको छ। मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ। घटनापछि गोदाममा कार्यरत कम्तीमा २० जना व्यक्ति सम्पर्कविहीन रहेको भन्दै उनीहरूका परिवारले प्रहरी चौकीमा हराएको उजुरी दर्ता गराएका छन्।
कोलकाता प्रहरीका एक अधिकारीका अनुसार अहिलेसम्म फेला परेका सबै आठ शवहरू नराम्ररी जलेका अवस्थामा भेटिएका छन्,जसका कारण उनीहरूको पहिचान गर्न कठिनाइ भइरहेको बीबीसीमा समाचार छ।
अग्नि नियन्त्रक स्रोतहरूका अनुसार आगलागी भएको गोदाम एक प्रसिद्ध मोमो कम्पनीको स्वामित्वमा रहेको थियो। जहाँ पेय पदार्थ र सुख्खा खाद्य सामग्री भण्डारण गरिएको थियो। आइतबार साँझ करिब ३ बजे आगलागीको सूचना पाएपछि झण्डै एक दर्जन दमकल परिचालन गरिएको भए पनि आगो पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।
बरुईपुरका प्रहरी उपरीक्षक शुभेन्द्र कुमारले भने,'अहिले नै जनधनको क्षतिको यथार्थ विवरण दिन सकिने अवस्था छैन। घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।'
घटनास्थलको निरीक्षण गरेका पश्चिम बंगालका अग्नि नियन्त्रक मन्त्री सुजित बसुले दुवै गोदाम ठूलो क्षेत्रफलमा फैलिएको र आगो कसरी सुरु भयो भन्ने विषयमा छानबिन भइरहेको जानकारी दिए। उनले रातको समयमा गोदाममा यति धेरै मानिस किन थिए भन्ने प्रश्नसमेत उठाए।
यस घटनालाई लिएर राजनीतिक प्रतिक्रिया पनि आएको छ। भारतीय जनता पार्टी (भाजपा) का नेता तथा केन्द्रीय मन्त्री सुकान्त मजुमदारले यसलाई प्रशासनिक असफलता भएको आरोप लगाएका छन्। उनले पूर्व मेदिनीपुर जिल्लाका एक युवक उक्त गोदाममा काम गर्ने गरेको र हाल उनी बेपत्ता रहेको बताएका छन्।
त्यस्तै,पश्चिम बंगाल विधानसभा विपक्षी दलका नेता शुभेन्दु अधिकारीले सरकारमाथि कडा आलोचना गर्दै भने,'सरकार जिम्मेवार देखिएको छैन।'