झापा गोल्डकपको उद्घाटनका दिन जग्गादाता डोमालालको सालिक अनावरण गरिने
बिर्तामोड । सातौँ झापा गोल्डकपको उद्घाटन दिन जग्गादाता डोमालाल राजवंशीको सालिक अनावरण गरिने भएको छ । करिब दुई वर्षदेखि गोल्डकपको सचिवालयमा अलपत्र परेको डोमालाल राजवंशीको अर्धकदको सालिकलाई यही माघ २४ गते गोल्डकपको उद्घाटनका दिन डोमालाल राजवंशी रंगशालामा अनावरण गरिने भएको हो ।
गोल्डकपका तत्कालीन अध्यक्ष स्वर्गीय विनोद बस्नेतले सो सालिक भारतबाट निर्माण गरेर ल्याएका थिए । बस्नेतको निधनपछि डोमालालको सालिक स्थापित गर्ने र असहाय विपन्न डोमालालकी छोरी सम्पत्ति राजवंशीको घर बनाइदिने योजना अलपत्र परेको थियो । जसलाई लिएर राजवंशी समुदायले गुनासो गर्दै आएका थिए ।
सोही विषयलाई लिएर हिजो गोल्डकपका अध्यक्ष केदार गिरी , वरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडेल , प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी , राजवंशी समाज विकास समिति बिर्तामोडका अध्यक्ष सुमन राजवंशी , मोरङका जिल्ला सचिव रुपेश राजवंशीबीच छलफल भएको थियो । छलफलमा जग्गा विवादका कारण डोमालाल राजवंशी रंगशाला सार्नुपर्ने अवस्था रहेकोले तत्कालका लागि अस्थायी रूपमै भएपनि सालिकलाई अनावरण गरी राजवंशी समुदायको माग सम्बोधन गर्ने मौखिक सहमति भएको छ । स्टेजको अगाडिपट्टि सो सालिक राखिने भएको हो । जग्गा विवादका कारण रंगशाला सार्नुपर्ने अवस्था आउँदा सालिक भत्काउनु पर्छ भनेर आफूहरूले सालिकलाई स्थापित नगरेको बताउँदै अध्यक्ष गिरीले तत्कालका लागि अस्थायी रुपमा राख्ने र पछि जग्गाको टुङ्गो लागिसकेपछि स्थायी र दिगो रुपमा सालिक पुनर्स्थापित गरिने जानकारी दिए ।
त्यस्तै पूर्व अध्यक्ष स्व. विनोद बस्नेतको सपना साकार पार्न गोल्डकपपछि डोमालाल राजवंशीकी छोरी सम्पत्तिको घर बनाइदिने अध्यक्ष गिरीले जानकारी दिए । स्व. बस्नेतले घर बनाइदिनका लागि सामाजिक सञ्जालमार्फत आर्थिक संकलन अभियान शुरु गरेका थिए । त्यस अभियानलाई निरन्तरता दिने गिरीको भनाई छ ।
छैटौँ संस्करणको झापा गोल्डकप सम्पन्न गर्ने बित्तिकै अध्यक्ष बस्नेत डोमालालको सालिक र घर निर्माण गरिदिने अभियानमा लागेका थिए । स्व. डोमालालका सन्तानका लागि बस्नेतले आफैबाट आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए । जग्गादाता राजवंशी परिवारको घर बनाउनका लागि अध्यक्ष बस्नेत स्वयंले ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । त्यसपछि त्यस मानवीय कामका लागि अन्य धेरै सहयोगी मनहरूले स्वतःस्फूर्त सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । डोमालाल राजवंशीको घरको लागि दाताहरूले १० लाखभन्दा बढी सहयोग गर्ने बचन दिएका थिए । बस्नेतकै पहलमा छैटौँ गोल्डकपको उद्घाटनका दिन डोमालालको परिवारलाई १ लाख रुपैयाँ सहयोग गरिएको थियो । यस वर्ष २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरिएकोमा त्यसमा थप्ने प्रयास भइरहेको अध्यक्ष गिरीले जानकारी दिए ।
डोमालाल राजवंशीले रंगशाला भएको ठाउँमा करिब १३ विगाह जग्गा दान दिएका थिए । अहिले भूमिहीन बनेका डोमालालकी छोरी सम्पत्ति , नातिहरू भीम र छवि राजवंशी रंगशालाको पश्चिमपट्टि झुप्रो बनाएर बसेका छन् । उनीहरूले मजदुरी गरी गुजारा गर्दै आएका छन् ।