२०८२ माघ २६ गते , सोमबार

भद्रपुरका ढकालमाथि एनेस्थेसियामा प्रयोग हुने औषधिको सिरिन्ज प्रहार भएको पुष्टि

sajilo news
झापा
२०८२ माघ २४ गते , शनिबार
भद्रपुरका ढकालमाथि एनेस्थेसियामा प्रयोग हुने औषधिको सिरिन्ज प्रहार भएको पुष्टि

भद्रपुरका खेमराज ढकालमाथि एनेस्थेसियामा प्रयोग हुने औषधिसहितको सिरिन्ज प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।कुनै पनि बिरामीलाई अपरेशन गर्नुभन्दा अगाडि बेहोस पार्न एनेस्थेसियामा प्रयोग हुने प्रोपोफोल औषधिसहितको सिरिन्ज ढकालमाथि प्रहार भएको जनाइएको छ ।

सिराहा विष्णुपुर गाउँपालिका वडा नं. १ स्थायी घर भएका २६ वर्षीय दीपेशकुमार सिंहले बिहीबार साँझ ६;२० बजे भद्रपुर नगरपालिका वडा नं. १० त्रिवेणी टोल बस्ने ६६ वर्षीय ढकालमाथि सिरिन्ज प्रहार गरेका थिए । परिवारसँग आफ्नै घरमा बसिरहेको अवस्थामा सिंहले आफूसँगै ल्याएको केमिकल लोड गरिएको सिरिन्जले एक्कासि ढकालको घाँटीमा प्रहार गरेका थिए । गम्भीर घाइते ढकाललाई उपचारको लागि भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा पुर्‍याई चेकजाँचपश्चात् चिकित्सकले मृत घोषणा गरेका थिए । घटना लगत्तै प्रहरीले सिंहलाई पक्राउ गरेको थियो । पीडितको घाँटीमा प्रहार गरिएको सिरिन्जमा भएको सो औषधि ल्याब परीक्षण गर्न पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

बि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा एमबीबीएस चौथो वर्षमा अध्ययनरत सिंहले घोपामै एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत जुनियर छात्राका बुवा ढकाललाई सिरिन्ज प्रहार गरी हत्या गरेका हुन् ।

सिंह बिहीबार बिहान पनि मृतक ढकालको घर पत्ता लगाई अवकाश प्राप्त शिक्षक चाहिएको छ खोजिदिनुपर्‍यो भनी बहाना बनाई घरमा आएका थिए । मृतककी छोरी घोपामा एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत रहेकीले उनीहरुबीच सामान्य चिनजान रहेको बुझिएको छ । ८/९ महिना अगाडि पनि ढकालकी छोरीको बदनाम गर्ने नियतले सिंहले फोटोहरू इडिट गरी पठाएका थिए । उनीबिरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी गरेको पीडितले बताएकी छन् । सिंहले प्रेम प्रस्ताव राख्दा ढकालकी छोरीले अस्वीकार गरेको बताइए पनि छोरीसँगको रिसिबीले बुबाको हत्या गर्नु पर्ने कारण भने पत्ता लाग्न सकेको छैन । त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न सिंहलाई मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसूरअन्तर्गत कारबाही तथा अनुसन्धान शुरु गरिएको डीएसपी खड्काले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार