२०८३ बैशाख ३ गते , विहीबार

लागूऔषधको कारोबारमा पक्राउ परेका मालिक रिहा, कामदारलाई सजाय

sajilo news
झापा
२०८२ फाल्गुन ८ गते , शुक्रबार
लागूऔषधको कारोबारमा पक्राउ परेका मालिक रिहा, कामदारलाई सजाय

लागूऔषधको कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेका बिर्तामोडका भानुभक्त खरेलले सफाइ पाएका छन् । झापा जिल्ला अदालतले खरेललाई निर्दोष ठहर गर्दै थुनामुक्त गर्न आदेश दिएको हो ।
अदालतको आदेशसँगै सोमबार खरेल कारागार मुक्त भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । खरेलको कामदारको रुपमा काम गर्दै आएका २५ वर्षीय विनोद घिमिरेलाई भने अदालतले दोषी ठहर गरेको छ । न्यायाधीश लोकबहादुर हमालको इजलासबाट उक्त फैसला भएको जिल्ला अदालत झापाका सूचना अधिकारी रामचन्द्र बस्नेतले जानकारी दिए ।

गत साउन १ गते बिर्तामोड–५ निवासी ५० वर्षीय भानुभक्त खरेलले राजनीतिक शक्तिको आडमा सङ्ग्रौलाको घरमा कोठा भाडा लिई लामो समयदेखि औषधीजन्य लागूऔषधको कारोबार गर्दै आइरहेको घटना सार्वजनिक भएको थियो । स्थानीयले दिएको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेर सो कोठाबाट विभिन्न छ प्रकारका झन्डै सवा दुई लाख लागूऔषध ट्याब्लेटसहित एक कामदारलाई पक्राउ गरेपछि खरेलको कुर्तत बाहिर आएको थियो । 

बरामद गरिएको औषधीजन्य लागूऔषधमध्ये ट्रामाडोल हाइड्रोक्लोराइड एक लाख तीन हजार ८०० क्याप्सुल, ट्रामाडोल हाइड्रोक्लोराइड इन्जेक्सन एक हजार ८७० एम्पुल, ट्रामाडोल एन्ड एसिटामिनोफेन चार हजार ५० ट्याब्लेट, डाइसाइक्लोमाइन एचसिएल ९७ हजार ट्याब्लेट, सिल्डेनाफिल आठ हजार ९०० ट्याब्लेट र टर्मिपलि किट्स सात हजार ६५० ट्याब्लेट रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । 

प्रहरीले घटनामा संलग्न खरेलका कामदार अर्जुनधारा नगरपालिका–६ निवासी २५ वर्षीय विनोद घिमिरेलाई पक्राउ गरेको थियो । सार्वजनिक गरेका घिमिरे सनलाईट फर्माका कामदार हुन्। उनलाई फर्माका सञ्चालक खरेलले मासिक १५ हजार रुपैयाँ दिएर काम राखेका थिए। उनले खरेलकै आदेशमा सबै काम गर्दै आएको घटनास्थलमै प्रहरी समक्ष बयान दिएका थिए। तर, पत्रकार सम्मेलनमा मुख्य कारोबारी खरेलको नाम प्रहरीले खुलाउनै चाहेनन्। यतिसम्म की प्रहरीको प्रेस रिलिजमा पनि सो कुरा उल्लेख गरेको थिएन । 
गोदाममा प्रहरीले छापा हानेसँगै फरार भएका खरेल जेनजी आन्दोलन पश्चात् घर आएको बेला भदौ २८ गते स्थानीयले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका थिए । नेकपा एमालेको भातृसंगठन राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ झापाको उपाध्यक्षसमेत रहेका औषधि व्यवसायी खरेल पक्राउ परेसँगै वाइसीएल नेपाल लगायतले कडा कारबाहीको माग गर्दै आएको थियो ।  

यो पनि पढनुहोस् :

बिर्तामोडबाट सप्लाई हुन्थ्यो देशका विभिन्न सहरमा लागूऔषध, कामदार पक्राउ, मुख्य कारोबारी फरार

सम्बन्धित समाचार