२०८२ चैत्र १५ गते , आईतबार

झापा गाउँपालिकामा हतियारधारी समूहद्वारा सामूहिक आक्रमण

sajilo news
झापा
२०८२ चैत्र १३ गते , शुक्रबार
झापा गाउँपालिकामा हतियारधारी समूहद्वारा सामूहिक आक्रमण

झापा गाउँपालिका-२ को नरिवल टोलामा राति हतियारधारी समूहद्वारा सामूहिक आक्रमण भएपछि सिङ्गो गाउँ नै त्रसित बनेको छ। पीडित वसन्त मुखियाका अनुसार गएराति ११ बजेतिर झापा गाउँपालिका–२ सडकवारी बस्ने किरण लिम्बूको नेतृत्वमा खुकुरी, रडसहित आएका करिब २५–३० जनाको समूहले घरमै प्रवेश गरी आफू र आफ्ना दाजुहरू मुकेश र विकु मुखियामाथि निर्घात कुटपिट गरेका हुन् । कुटपिट सहन नसकेपछि वसन्त मुखिया घरबाट भागेर छिमेकीको घरमा शरण लिन पुगेका थिए भने मुकेश र विकु घाइते भएका थिए ।

घाइते मुकेशको टाउकोमा गम्भीर चोट लागेको छ। उनकी आमा देवन्ती मुखियाका अनुसार मुकेशको टाउकोमा १२ वटा टाँका लगाइएको छ। आँखाभरि आँसु झार्दै उनले भनिन्, “मेरो छोरालाई मार्न खोज्नेहरूलाई अहिलेसम्म प्रहरीले पक्राउ गरेको छैन, हामी न्याय चाहन्छौँ।” घाइतेहरूलाई उपचारका लागि बिर्ता सिटी अस्पताल बिर्तामोड ल्याइएको छ ।

पीडित परिवारका अनुसार आक्रमणकारीहरूले घरभित्र रहेका महिलाहरूमाथि समेत तथानाम गालीगलौज गरेका थिए। डरका कारण उनीहरू कोठाभित्र चुकुल लगाएर बस्न बाध्य भएका थिए। साथै, आक्रमणकारीहरूले वसन्त मुखियाको घरको झ्यालको सीसा तोडफोड गरेका छन् ।

प्रत्यक्षदर्शीका अनुसार उक्त समूहले गाउँभरि आतंक मच्चाएको थियो। स्थानीयलाई कुटपिट गर्नुका साथै लखेट्ने कार्य समेत गरेको थियो । छिमेकी विद्यानन्द राजवंशीले आफू घटनास्थलतर्फ जाँदै गर्दा बाटोमै आक्रमणमा परेको बताए। “के भयो भनेर हेर्न जाँदै थिएँ, बाटोमै केटाहरूको समूहले मलाई कुटपिट गरे। हेल्मेटले टाउकोमा तीन पटक हाने,” उनले भने। यस्तै, छिमेकी प्रमीला खातुन पनि आक्रमणमा परी घाइते भएकी छन्। उनको आँखा र खुट्टामा चोट लागेको छ। स्थानीयका अनुसार महिलाहरूमाथि समेत हातपात गरिएको थियो।

घटनास्थलबाट इलाका प्रहरी कार्यालय कुमरखोद करिब ७ सय मिटर पूर्व र सशस्त्र प्रहरीको बीओपी टाँघनडुब्बा करिब ८ सय मिटर दक्षिणमा रहेको छ । घटनापछि गाउँमा भयको वातावरण सिर्जना भएको छ। दोषीहरूलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न स्थानीयवासीले माग गरेका छन्

यसैबीच सो घटनामा संलग्न एक जना आक्रमणकारी घाइते भएका छन् । आक्रमण गरेर स्कुटरमा फर्कँदै गरेका बिर्तामोड ६ का २६ वर्षीय रुपेश ढुङ्गेल दुर्घटनामा परी घाइते भएका हुन् । स्कुटर अनियन्त्रित भई पल्टिदा उनी दुर्गापुरनजिक दुर्घटनामा परेको जनाइएको छ । घाइते ढुंगेलको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । प्रहरी निगरानीमा ढुंगेलको उपचार भइरहेको र फरार भएका अन्यको पनि पहिचान तथा खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार