झापामा ब्राउन सुगरसहित तीनजना पक्राउ
झापाको अर्जुनधाराबाट लागू औषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका-३ चप्रामारी बस्ने वर्ष ३७ का धनबहादुर राजवंशी, अर्जुनधारा नगरपालिका-११ सालबारी बस्ने वर्ष ४५ का तिनतालु राजवंशी र गौरादह नगरपालिका-३ चप्रामारी बस्ने वर्ष ३० की सृजना राई रहेका छन् ।
सोमबार दिउँसो १ः३० बजे अर्जुनधारा-६ अधुवा खोलाको भत्केको पुलस्थित लखी मुर्मुको घरमा डेरा गरी बस्ने गौरादह-३ चप्रामारी बस्ने धनबहादुर राजवंशीको डेरामा लागूऔषध बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा लागूऔषध ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूको साथबाट प्लास्टिकबाहेक २२ ग्राम ब्राउन सुगर फेला पारेको थियो ।
झापामा प्रहरीले लागूऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्ध चैत १ गतेदेखि मिसन “अपरेसन ब्राउन” अभियान सञ्चालन गरिरहेको छ । पक्राउ परेका तीन जनालाई लागू औषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।