झापाको सिरक गोदाममा आगलागी, करिब ६० लाखको क्षति
झापाको अर्जुनधारा नगरपालिका–११ बुट्टाबारीस्थित एक सिरक गोदाममा आगलागी हुँदा करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
आज दिउँसो करिब १२ बजेको समयमा नुर मोहम्मदको सिरक गोदाममा अचानक आगलागी भएको हो । आगलागीबाट टिनको बेरा र छानो भएको गोदाम पूर्ण रूपमा जलेको छ भने गोदामभित्र रहेका रुवा बनाउने मेसिन तथा कच्चा पदार्थ (रुवा) समेत नष्ट भएको छ। आगलागीबाट करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरिएको छ।
यद्यपि, घटनामा कुनै मानवीय क्षति भएको छैन। उक्त गोदाम नुर मोहम्मदकी श्रीमती सलमा खातुनको नाममा रहेको र उनी रौतहट घर भई हाल बिर्तामोड नगरपालिका–५ मा डेरा गरी बस्दै आएकी छन्। उनले भाडामा लिएको जग्गामा ‘बिर्तामोड कपास प्रशोधन उद्योग’ सञ्चालन गर्दै आएको बताइएको छ।
गोदाममा लागेको आगो इलाका प्रहरी कार्यालय अनारमनि, चारआलीस्थित अरिदमन गणबाट नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्पबाट खटिएको सुरक्षाकर्मीको टोलीसहित बिर्तामोड, मेचीनगर, भद्रपुर, दमक, शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाका दमकल तथा स्थानीय बासिन्दाको सक्रिय सहयोगमा दिउँसो करिब २:२५ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।