पश्चिम बंगाल निर्वाचन: काँकडभिट्टा र पशुपतिनगर सीमा नाका ७२ घण्टाका लागि बन्द
झापा । पूर्वी नेपालको सीमा नाका आज साँझ ६ बजेदेखि ७२ घण्टाका लागि बन्द हुने भएको छ । भारतको पश्चिम बंगालमा यही अप्रिल २३ तारिख अर्थात् बैशाख १० गते बिहीबार हुने विधानसभा निर्वाचनलाई लक्षित गरी झापाको काँकडभिट्टा र इलामको पशुपतिनगर सीमा नाका ७२ घण्टा शिल गरिन लागेको हो ।
जिल्ला प्रशासन कार्यालय दार्जिलिङले आइतबार जारी गरेको पत्र अनुसार अप्रिल २० तारिख साँझ ६ बजेदेखि अप्रिल २३ तारिख राति १२ बजे अर्थात् बैशाख ७ गते साँझ ६ बजेदेखि बैशाख १० गते राति १२ बजेसम्म सीमा नाका पूर्ण रुपमा बन्द रहने उल्लेख छ ।
सो अवधिमा पैदल हिँड्ने सर्वसाधारण र सवारीसाधन आउजाउ पूर्ण रूप बन्द हुनेछ । अति आवश्यक तथा बिरामीलाई चाहिँ परिचयपत्रसहित आवश्यक कागजात खुलाएर आउजाउ गर्न दिइने, विदेशी पर्यटकलाई सहजीकरण गरिदिने र सड्ने किसिमका खाद्यान्न वस्तुहरू लोड भएका सवारीसाधनलाई अनुमति दिइने पत्रमा उल्लेख छ । यता भद्रपुर गलगलिया सीमा नाका भने खुला रहनेछ ।
विहारसँग जोडिएको नाका कारण भद्रपुर नाका खुला रहने र सीमा सुरक्षा व्यवस्था थप कडा पार्ने जनाइएको छ । भद्रपुरबाट प्रवेश गर्नेलाई बंगालमा प्रवेशमा भने कडाइ गरिने छ । पश्चिम बंगालमा पहिलो चरणको विधानसभा निर्वाचन अन्तर्गत २३ अप्रिलमा १६ जिल्लाका १५२ सिटमा मतदान हुँदैछ।
पहिलो चरणमा करिब ३.६ करोड मतदाताले उम्मेदवारहरूको भाग्य निर्धारण गर्नेछन्। निर्वाचन आयोगले सबै मतदान केन्द्रमा केन्द्रीय सुरक्षा बल परिचालन गरिसकेको छ र जिल्ला/जिल्लामा कडा सुरक्षा व्यवस्था मिलाएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।