प्रहरीले गोली चलाएर ब्राउन सुगर कारोबारीलाई समात्यो
मोरङको रतुवामाई नगरपालिकामा सोमबार राति प्रहरीले गोली चलाएको छ । भारतबाट लागुऔषध ल्याउँदै गरेका एक युवकलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।
रतुवामाई–१ हटिया डाँडामा करिब राति ८:२० बजेतिर भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ एडी ५३९० नम्बरको मोटरसाइकललाई शंका लागेर प्रहरी टोलीले रोक्ने प्रयास गरेको थियो । तर, प्रहरी देख्नेबित्तिकै मोटरसाइकल लिएर चालक भाग्न खोजेपछि दुई राउण्ड हवाई फायर गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । उनका अनुसार हवाई फायरपछि मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको छ ।
गोली हानेर प्रहरीले रतुवामाई–१ सोनापुरका २१ वर्षीय मोहम्मद आविद मियाँलाई पक्राउ गरेको छ । उनको साथबाट कालो प्लास्टिकमा प्याक गरिएको ५ पोका ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । बरामद लागुऔषध प्लाष्टिकसहित ४७५ ग्राम ८२० मिलिग्राम रहेको एसपी कटवालले बताए ।
प्रहरीका अनुसार मियाँ लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहेको देखिएको छ । उनलाई इलाका प्रहरी कार्यालय सिजुवामा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।