पश्चिम बंगालमा शान्तिपूर्ण मतदान : ९२.३५ प्रतिशत मत खस्यो
चुनावी हिंसाका लागि दशकौँदेखि कुख्यात मानिँदै आएको भारतको पश्चिम बंगालमा यसपटक भने बिल्कुलै फरक दृश्य देखिएको छ। विधानसभा चुनावको पहिलो चरण अन्तर्गत बिहीबार राज्यका १६ जिल्लाका १५२ सिटमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ।
विशेष गहन पुनरीक्षण (एफआईआर) को लामो प्रक्रियापछि सम्पन्न भएको यस मतदानप्रति सबै वर्गमा उल्लेखनीय उत्साह देखिएको थियो। कडा सुरक्षा व्यवस्थाका बीच सम्पन्न मतदानमा युवादेखि ज्येष्ठ नागरिकसम्म सक्रिय रूपमा सहभागी भएका थिए। विशेषगरी महिलाहरूको उल्लेखनीय सहभागिता देखिएको छ भने विभिन्न राज्यबाट फर्किएका प्रवासी श्रमिकहरूले पनि ठूलो संख्यामा मतदान गरेका छन्।
बंगालका मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार करिब ३ करोड ६० लाख मतदाता रहेकोमा राति ९ बजेसम्म ९२.३५ प्रतिशत मत खसेको छ, जुन सन् २०२१ को तुलनामा १० प्रतिशतभन्दा बढी हो।
पहिलो चरणको मतदान शान्तिपूर्ण र उच्च सहभागिताले बंगालको चुनावी इतिहासमा नयाँ सन्देश दिएको विश्लेषकहरूले बताएका छन्। अब दोस्रो चरणको मतदान आउँदो बुधबार हुनेछ।