२०८३ बैशाख २० गते , आईतबार

झापामा पक्राउ अभियानका क्रममा दुईजना प्रहरी घाइते, ६ जना पक्राउ

sajilo news
झापा
२०८३ बैशाख १४ गते , सोमबार
झापामा पक्राउ अभियानका क्रममा दुईजना प्रहरी घाइते, ६ जना पक्राउ

झापाको मेचीनगर र अर्जुनधारामा भएको घटनामा आरोपित पक्राउ गर्ने क्रममा दुई जना प्रहरी घाइते भएका छन्। आइतबार साँझ करिब ५ बजे मेचीनगर नगरपालिका–९ ढकाल चोकका २५ वर्षीय विशाल लिम्बूले मादक पदार्थ सेवन गरी गाउँघरमा होहल्ला मच्चाउँदै आतङ्क फैलाएका थिए।

इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिने क्रममा उनको मुक्का प्रहारबाट प्रहरी जवान रघुनाथ चौधरी घाइते भएका छन्। चौधरीको दाहिने हात भाँचिएको छ। उनलाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल, भद्रपुर पठाइएको छ। आरोपी लिम्बूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ।

त्यस्तै हिजै साँझ करिब ७ बजे अर्जुनधारा नगरपालिका–११ स्थित चिया बगान क्षेत्रमा झगडासम्बन्धी अनुसन्धानका लागि पुगेको अस्थायी प्रहरी पोस्ट बसपार्कको टोलीले आरोपितहरूलाई पक्राउ गर्ने क्रममा अर्को घटना घटेको छ। सो क्रममा नवीन राईले हेलमेटले प्रहार गर्दा प्रहरी सहायक निरीक्षक दिपेन राई घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको भए पनि अवस्था सामान्य रहेको बताइएको छ।

प्रहरीले बुद्धशान्ति गाउँपालिका–५ का २६ वर्षीय मनोज राई, सोही स्थानका २२ वर्षीय सुमन लिम्बू, वडा नं. ४ का २५ वर्षीय नवीन राई, वडा नं. ५ का २९ वर्षीय मंगलसिंह राई तथा ताप्लेजुङ फुङलिङ घर भई हाल अर्जुनधारा–६ बस्ने २० वर्षीया कुस्मी राईलाई पक्राउ गरेको छ। उनीहरूको साथमा रहेको मे ३ प ९०८० र प्र १–०१–०१९ प २५८७ नम्बरका मोटरसाइकलसमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित समाचार