झापामा ८ लाखभन्दा बढी मूल्यको चाइनिज स्याउ बरामद, भारततर्फ तस्करीको प्रयास विफल
झापा । झापामा अवैध रूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजि स्याउ बरामद गरिएको छ । आज दिउँसो करिब साढे १२ बजेको समयमा झापा गाउँपालिका–१ सालमारास्थित जालिम मियाको घर पछाडि लुकाइछिपाइ राखिएको १०४ कार्टुन (करिब २ हजार ८० केजी) चाइनिज फुजि स्याउ बरामद गरेको हो ।
उक्त स्याउ नेपालबाट अवैध रूपमा भारततर्फ लैजान तयारी अवस्थामा लुकाइछिपाइ राखेको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल बीओपी टाघनडुब्बा र इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको संयुक्त टोलीले छापा मारेर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
स्याउको अनुमानित बजार मूल्य ८ लाख ४० हजार रुपैयाँ रहेको जनाइएको छ। बरामद गरिएको स्याउ आवश्यक प्रक्रिया पूरा गरी भन्सार बुझाउने प्रहरीले जनाएको छ । संयुक्त प्रहरी टोलीले स्याउ बरामद गरेसँगै तस्करको योजना विफल भएको छ । भद्रपुर नाकाबाट चाइनिज फर्सीको बिउँ तस्करी हुने गरेको घटना सेलाउन नपाउँदै झापा गाउँपालिकामा स्याउ तस्करीको अर्को घटना बाहिर आएकोले पछिल्लो समयमा जिल्लाका सीमा नाकाहरुबाट तस्करी गतिविधि मौलाएको छ ।