पश्चिम बंगाल निर्वाचन : दोस्रो चरणमा ९१.७९% मतदान, केही स्थानमा झडप र हिंसा
पश्चिम बंगालमा दोस्रो चरणअन्तर्गत १४२ सिटका लागि मतदान सम्पन्न भएको छ। साँझ ७ बजेसम्म प्राप्त विवरणअनुसार ९१.७९ प्रतिशत मतदान भएको छ, जसमा अझ वृद्धि हुन सक्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यम दैनिक भाष्करले लेखेका छन् ।
मतदानका क्रममा विभिन्न स्थानमा झडप, हिंसा, लाठीचार्ज तथा इलेक्ट्रोनिक भोटिङ मेसिनमा छेडछाडका घटनाहरू सार्वजनिक भएका छन्। नर्थ २४ परगना जिल्लाको अरविन्द र्याली क्षेत्रमा तृणमूल र भाजपा कार्यकर्ताबीच हिंसात्मक झडप भएको थियो। दुवै पक्षका कार्यकर्ताहरूले एकअर्कामाथि लाठी र मुक्काले आक्रमण गरेको बताइएको छ। ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिए पनि अवस्था केहीबेर नियन्त्रण बाहिर देखिएको थियो।
यसैबीच, तृणमूलले हावडाको उदयनारायणपुर क्षेत्रमा केन्द्रीय रिजर्भ पुलिस बलको आक्रमणका कारण एक वृद्धको मृत्यु भएको आरोप लगाएको छ। तृणमूलका महासचिव अभिषेक बनर्जीका अनुसार ती वृद्ध आफ्ना छोरासँग मतदान गर्न गएका थिए। सो क्रममा केन्द्रीय सुरक्षाकर्मीले धक्का दिँदा र कुटपिट गर्दा उनी गम्भीर घाइते भएका थिए। उनलाई अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
आज मतदान भएका १४२ सिटमध्ये २०२१ को विधानसभा चुनावमा १२३ सिटमा तृणमूल विजयी भएको थियो। यसअघि २३ अप्रिलमा सम्पन्न पहिलो चरणअन्तर्गत १५२ सिटमा ९३ प्रतिशत मतदान भएको थियो। पश्चिम बंगाल विधानसभा चुनावको सम्पूर्ण २५४ सिटको नतिजा आगामी मे ४ मा सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ।