ट्रम्पद्वारा इरानको तीनबुँदे प्रस्ताव अस्वीकार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ तीनबुँदे प्रस्तावबाट असन्तुष्ट देखिएका छन्। किनभने, इरान आणविक कार्यक्रममाथिको वार्तालाई पछि सार्न चाहन्छ, जबकि अमेरिकाका लागि यही सबैभन्दा ठूलो र प्राथमिक मुद्दा हो। यसैबीच ट्रम्पले इरानको तीनबुँदे प्रस्ताव अस्वीकार गरेको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
इरानको योजनाले वासिङ्टनको मूल माग पूरा नगर्ने र यसमा इरानको आणविक कार्यक्रमको समाधान सबैभन्दा पहिले खोजिनुपर्ने अमेरिकाको सर्त रहेको छ। ट्रम्पले आफ्ना सल्लाहकारहरूसँगको बैठकमा इरानका सर्तहरू खारेज गरिदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘रोयटर्स’ले दाबी गरेको छ।
यसले पश्चिम एसियामा शान्ति स्थापनाको आशालाई अझ कमजोर बनाएको विश्लेषण गरिएको छ। तेल र ग्यासको आपूर्ति पहिले नै अवरुद्ध भइरहेको छ, जसका कारण विश्वभर महँगी बढिरहेको छ।
के छ इरानको तीनबुँदे प्रस्तावमा ?
इरानको तीनबुँदे प्रस्तावमा युद्धको अन्त्य, नाकाबन्दी हटाउने र परमाणु वार्तासम्बन्धी विषयहरू समावेश छन्। यसमा अमेरिका–इजरायलले इरानमाथिको युद्ध समाप्त गर्ने र नयाँ युद्ध वा हमला नगर्ने ग्यारेन्टी दिने, अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने तथा होर्मुज लगायतका प्रमुख ढुवानी मार्गहरू पुनः खोल्ने र इरानको आणविक कार्यक्रम तथा युरेनियम संवर्धनको अधिकारजस्ता विवादास्पद मुद्दाहरूमा पछि छलफल गर्ने प्रस्ताव रहेको बताइएको छ।
ट्रम्प प्रशासनले आणविक मुद्दालाई कुनैपनि स्थायी सम्झौताको केन्द्र मान्छ र यसलाई अन्य कुराकानीबाट अलग राख्न चाहँदैन।
एक अमेरिकी अधिकारीकाअनुसार, ट्रम्पले सर्तहरू अस्वीकार गर्दै आणविक मामिलालाई सुरुदेखि नै टुंग्याउनुपर्ने बताएका छन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ‘फक्स न्यूज’सँगको अन्तर्वार्तामा भने, ‘हामी उनीहरूलाई यसबाट उम्किन दिने छैनौँ। कुनै पनि सम्झौताले इरानलाई आणविक हतियार बनाउनबाट पूर्ण रूपमा रोक्नुपर्छ।’
यस गतिरोधले कूटनीतिको सम्भावनालाई न्यून बनाएको बताइएको छ। इस्लामाबादमा तय गरिएको प्रस्तावित वार्ता रद्द भएको छ। खाडी क्षेत्रको तनावले विश्व बजार नराम्ररी प्रभावित भएको छ। ‘ब्रेन्ट क्रुड’ तेलको मूल्य तीव्र गतिमा बढेको छ।