समाचार प्रभाव : गौरीगञ्जको दशगजामा रहेका १३ वटा मदिरा पसल बन्द
झापाको गौरीगंज गाउँपालिका-५ स्थित फत्तेपुरमा रहेका १३ वटा मदिरा पसल बन्द गराइएको छ । टाइम्स अफ प्रदेश अनलाइन मिडियाले दशगजामै मदिरा पसल रहेको भिडियो प्रसारण गरेसँगै झापाका प्रहरी, प्रशासनले त्यहाँका मदिरा पसलहरू बन्द गराएको हो । ती मदिरा पसलहरू दशगजादेखि ५ सय मिटरभित्र सञ्चालनमा रहेका थिए ।
बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक भुवनबाबु खड्काको कमान्डमा ५ जना प्रहरी टोली, सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म गौरीगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक किशोरकुमार श्रेष्ठको कमान्डमा १५ जना, गौरीगंज गाउँपालिका प्रशासन शाखाका सहायक गौरव रिजाल, उद्योग वाणिज्य संघ गौरीगंजका उपाध्यक्ष विनोद साह, सोही वडाका वडा अध्यक्ष विजयप्रसाद सिंह, अन्य जनप्रतिनिधि र स्थानीयहरूको उपस्थितिमा मदिरा पसलहरू बन्द गराएको हो ।
मदिरा पसलका सञ्चालकहरूलाई सम्झाइबुझाई अबदेखि मदिरा बिक्री नगर्न निर्देशन दिएको प्रहरीले जनाएको छ । सीमावर्ती भारतको बिहारमा मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । भारतीयहरू दशगजा छेउमा रहेका नेपालका ती पसलहरूमा आएर मदिरा खाने गरेका थिए । त्यहाँका स्थानीयले पनि मदिरा पसल हटाउनु पर्ने माग उठाउँदै आएको थियो । बल्ला स्थानीयको माग सम्बोधन भएको छ ।