२०८३ बैशाख १९ गते , शनिबार

झापामा जंगली हात्तीको आतंक, दुई घरमा क्षति

sajilo news
झापा
२०८३ बैशाख १९ गते , शनिबार
झापामा जंगली हात्तीको आतंक, दुई घरमा क्षति

झापाको मेचीनगरमा जंगली हात्तीले दुईवटा घरमा क्षति पुर्‍याएको छ। आज बिहान करिब ४ बजे मेचीनगर नगरपालिका–२ आदर्श टोल निवासी श्यामलाल अर्यालको ढुङ्गा, माटो र काठपातले बनेको टिनको छानो भएको एकतले भान्सा घरमा एउटा जंगली हात्ती प्रवेश गरी पूर्ण रूपमा भत्काएको हो।

हात्तीले सोही भान्साभित्र राखिएको धान र आलुसमेत नष्ट गर्दा करिब ३० हजार रुपैयाँ बराबरको क्षति गरेको जनाइएको छ। त्यस्तै सोही ठाउँकी बबिता पुरीको भान्सा घरमा समेत हात्तीले क्षति पुर्‍याएको छ। उनको भान्सा घरमा रहेको चामल लगायत खाद्यान्नमा करिब १४ हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ।

दुवै घरको भान्सा र खाद्यान्न गरी जम्मा ४४ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। पछिल्लो समय जंगली हात्ती बस्तीमा पस्ने क्रम बढ्दो छ, जसले जनधनको सुरक्षामा स्थानीय चिन्तित देखिएका छन् । 

सम्बन्धित समाचार