२०८३ बैशाख २४ गते , विहीबार

भद्रपुरका महिलाहरूलाई आत्मनिर्भर बनाउन नगरपालिकाद्वारा नौमती बाजा तालिम

sajilo news
झापा
२०८३ बैशाख २१ गते , सोमबार
भद्रपुरका महिलाहरूलाई आत्मनिर्भर बनाउन नगरपालिकाद्वारा नौमती बाजा तालिम

भद्रपुर । भद्रपुर नगरपालिकाले नगर क्षेत्रका महिलाहरूलाई नौमती बाजा बजाउने तालिम प्रदान गरेको छ । नगरको सामाजिक विकास कार्यक्रम अन्तर्गत महिलाहरूको आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले आयोजना गरिएको सात दिने नौमती बाजा तालिम सफलतापूर्वक सम्पन्न भएको छ । 
वडा नम्बर २ का १५ जना महिलाहरू सहभागी रहेको उक्त तालिम वैशाख १३ गतेदेखि वैशाख २१ गतेसम्म सञ्चालन गरिएको थियो।
उक्त तालिममा प्रशिक्षकको रूपमा भद्रपुर नगरपालिकाबाट विगतमा नौमती बाजा तालिम लिएर हाल व्यवसाय सञ्चालन गरिरहेका चन्द्रगढीका समाजसेवी प्रशिक्षकहरूले प्रशिक्षण दिएका थिए। सहभागी महिलाहरूले तालिममार्फत नौमती बाजा बजाउने सीप हासिल गर्नुका साथै भविष्यमा यसलाई व्यावसायिक रूपमा अघि बढाउने विश्वास व्यक्त गरेका छन्। छिमेकी राष्ट्र भारतका विभिन्न स्थानहरूमा नौमती बाजाको बढ्दो माग रहेको र तालिम पश्चात् महिलाहरूले आयआर्जनको अवसर पाउने सम्भावना देखिएकाले यस्तो कार्यक्रम आयोजना गरिएको नगरपालिकाका प्रमुख गणेश पोखरेलले बताए । नगरपालिकाको यस्तो पहलले महिलाहरूलाई आत्मनिर्भर बनाउने तथा सांस्कृतिक सम्पदाको संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको उनको भनाई छ । वडा नम्बर २ का वडाध्यक्ष राम कँडेलको अध्यक्षतामा समापन भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की,  सामाजिक विकास समितिका संयोजक, कार्यपालिका सदस्यहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। यसै क्रममा वडा नम्बर १ मा पनि यस्तै तालिम सञ्चालन भइरहेको छ। नगरपालिकाले सबै वडामा नौमती बाजा समूह गठन गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाएको सामाजिक विकास प्रमुख जीवनकला राउतले जानकारी दिइन् ।

सम्बन्धित समाचार