बिर्तामोडमा बाल क्लबलाई लेखन तालिम
बाल क्लबका पदाधिकारीहरूलाई प्रतिवेदन लेखन तालिम सम्पन्न भएको छ । आदर्श बाल क्लबका २९ जना बालबालिकाहरूको लागि आयोजित २ दिने तालिम सम्पन्न भएको हो । योसँगै सामाजिक सञ्जालको प्रयोग, लागूपदार्थ दुर्व्यसनी, व्यक्तिगत घटना दर्ता लगायतका विषयमा तालिम प्रदान गरिएको वडा सचिव जानुका बस्नेतले जानकारी दिइन्।
तालिममा चेतना नेपालका सञ्चालक इन्द्रप्रसाद ओली र प्रेम कुमार सेडाईले प्रशिक्षण प्रदान गरेको थियो । समापन कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड १ का वडाअध्यक्ष तथा नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले देशको नेतृत्वमा पुग्ने बालबालिकाहरूलाई यस प्रकारको ज्ञान आवश्यक भएकोले तालिमको आयोजना गरिएको बताए । आगामी वर्षको बजेटमा पनि योजना बनाएर बालबालिकाहरूको लागि तालिम प्रदान गरिने उनले जानकारी दिए । यसका लागि योजना तर्जुमा गर्दा बालबालिकाहरूलाई सहभागी गराउने वडाअध्यक्ष पाण्डेको प्रतिबद्धता छ ।
कार्यक्रममा बोल्दै तालिममा सहभागी सुलभ कार्की र तपस्या प्रसाईँले तालिम प्रभावकारी भएको र यसलाई व्यवहारमा लागु गर्ने धारणा राखे । तालिममा सहभागीहरूको क्रियाशीलताको आधारमा ४ जनालाई पुरस्कृतसमेत गरिएको छ । जसमा तपस्या तामन प्रसाईँ प्रथम, आर्या पाण्डे दोस्रो, सायुमा लिम्बु तेस्रो र जोशना कार्की सान्त्वना भएका छन् ।
आदर्श बाल क्लबका अध्यक्ष न्युसन थापाको अध्यक्षतामा आयोजित तालिम समापन कार्यक्रममा बिर्तामोड नगरपालिकाका कार्यपालिका सदस्य यामुना आचार्य , पूर्व वडा सदस्य प्रेमप्रसाद खरेल लगायतको उपस्थिति रहेको थियो ।