२०८३ बैशाख २७ गते , आईतबार

विजय थलापति बने तमिलनाडुका मुख्यमन्त्री, लिए शपथ

sajilo news
एजेन्सी
२०८३ बैशाख २७ गते , आईतबार
विजय थलापति बने तमिलनाडुका मुख्यमन्त्री, लिए शपथ

साउथ फिल्म स्टार विजय थलापतिले तमिलनाडुका मुख्यमन्त्री पदको शपथ लिएका छन्। उनले आइतबार चेन्नईमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

तमिलनाडु विधानसभा निर्वाचनमा विजय नेतृत्वको पार्टी सबैभन्दा ठूलो दल बनेपछि उनी मुख्यमन्त्री बनेका हुन्। निर्वाचन परिणामपछि राजनीतिक वृत्तमा ठूलो चासोको विषय बनेका विजयले पहिलो पटक राज्य सरकारको नेतृत्व सम्हालेका छन्।

उनले १३ मेभित्र प्रदेशसभामा विश्वासको मत प्रस्तुत गर्नुपर्ने तमिलनाडु लोक भवनले पुष्टि गरेको छ। यसअघि शनिबार साँझ तमिलनाडुमा कांग्रेस, सीपीआई र सीपीएमपछि भीसीके तथा इन्डियन युनियन मुस्लिम लिग (आईयूएमएल)ले पनि टीभीकेलाई समर्थन गर्ने घोषणा गरेका थिए।

भीसीकेका नेता थोल थिरुमावलवनले टीभीके नेता अधव अर्जुनलाई पार्टीको समर्थनपत्र दिएका थिए भने आईयूएमएलले पनि टीभीकेलाई समर्थनपत्र बुझाएको थियो। 

२३४ सदस्यीय तमिलनाडु प्रदेशसभा निर्वाचनमा टीभीकेले १०८ सिट जितेको छ। दुई स्थानबाट निर्वाचित विजयले एउटा सिट छाड्नुपर्ने भएकाले टीभीकेको संख्या १०७ मा झर्नेछ।

त्यसपछि प्रदेशसभाको संख्या २३३ मा सीमित हुने र बहुमतका लागि ११७ सदस्यको समर्थन आवश्यक पर्नेछ। कांग्रेसले पाँच सिट जितेको छ भने सीपीआई, सीपीएम, भीसीके र आईयूएमएलले दुई–दुई सिट जितेका छन्। यससँगै टीभीकेको समर्थनमा १२१ सिट पुगेको छ, जुन बहुमतका लागि आवश्यक संख्याभन्दा बढी हो।

सम्बन्धित समाचार