अफगानिस्तानको सुधार केन्द्रमा पाकिस्तानको आत्मघाती हमला, २६९ जनाको मृत्यु
काबुल । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक लागूऔषध दुर्व्यसनी सुधार केन्द्रमा दुई महिनाअघि भएको पाकिस्तानी हवाई हमलामा कम्तीमा २६९ जनाको मृत्यु भएको संयुक्त राष्ट्र संघको नयाँ रिपोर्टले पुष्टि गरेको छ। मारिनेहरूमा उपचाररत बिरामी र त्यहाँ कार्यरत कर्मचारीहरू रहेका छन्।
मार्च १६ मा 'ओमिद ड्रग रिह्याबिलिटेसन हस्पिटल' मा तीनवटा बम प्रहार गरिएको थियो। आक्रमण यति शक्तिशाली थियो कि धेरैजसो शवहरू पहिचान गर्न नसकिने गरी टुक्रा-टुक्रा भएका थिए। संयुक्त राष्ट्र संघका अनुसार २६९ जनाको मृत्यु पुष्टि भए पनि वास्तविक संख्या योभन्दा धेरै हुन सक्ने बताइएको छ।
पाकिस्तानी सेनाले उक्त केन्द्रलाई 'नागरिक सुविधाु नभई आतंकवादीहरूको अखडा र 'आत्मघाती बमवर्षक तालिम केन्द्रु भएको दाबी गरेको छ। यद्यपि, बिबिसीले कुरा गरेका ३० भन्दा बढी पीडित परिवार र प्रत्यक्षदर्शीहरूले उक्त दाबीलाई झूटो भन्दै मारिनेहरू सामान्य नागरिक र उपचाररत बिरामीहरू मात्र भएको बताएका छन्।
ह्युमन राइट्स वाचले यसलाई 'गैरकानूनी आक्रमण र सम्भावित युद्ध अपराध' को रूपमा चित्रण गरेको छ। संयुक्त राष्ट्र संघले पनि उक्त स्थान सन् २०१६ देखि सुधार केन्द्रको रूपमा सञ्चालित रहेको र अन्तर्राष्ट्रिय निकायहरूलाई त्यसका बारेमा पहिले नै जानकारी रहेको स्पष्ट पारेको छ।
सन् २०२१ मा तालिबान सत्तामा आएपछि पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध निकै बिग्रिएको छ। पाकिस्तानले तालिबान सरकारलाई आफ्नो भूमिमा आतंकवादीहरूलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ भने तालिबानले त्यसलाई अस्वीकार गर्दै आएको छ।
तालिबान सरकारका प्रवक्ताले यस घटनालाई 'युद्ध अपराध' भन्दै अन्तर्राष्ट्रिय संस्थाहरूलाई अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न आग्रह गरेका छन्। पीडित परिवारहरूले भने आफ्ना प्रियजनको अन्तिम संस्कार समेत राम्रोसँग गर्न नपाएकोमा गहिरो दुःख व्यक्त गर्दै न्यायको प्रतीक्षा गरिरहेका छन्।