भारतको उत्तर प्रदेशमा भीषण आँधी र वर्षाका कारण ५६ जनाको मृत्यु
भारतको उत्तर प्रदेशमा गएराति आएको भीषण आँधी र वर्षाका कारण ५६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। सबैभन्दा बढी क्षति प्रयागराज, भदोही र मिर्जापुर जिल्लामा भएको छ। प्रयागराजमा १६ जनाको मृत्यु भएको छ , भने भदोहीमा १५ र मिर्जापुरमा १० जनाको मृत्यु भएको छ।
त्यस्तै भदोहीमा मात्रै ८ जना गम्भिर घाइते भएका छन्। तीमध्ये ३ जनाको अवस्था निकै नाजुक रहेकाले उनीहरूलाई थप उपचारका लागि वाराणसीको पठाइएको छ।
प्रतिघन्टा तीव्र गतिको हावाहुरीका कारण सयौँ रूखहरू उखालिएका छन्, बिजुलीका पोलहरू ढलेका छन् र कच्ची घरहरू भत्किएका छन्। अधिकांश मानिसको मृत्यु घरको पर्खाल भत्केर वा रूखले किचिएर भएको हो। आँधीका कारण मानिसका साथै पशुचौपायाको पनि ठूलो क्षति भएको छ। भदोहीमा मात्रै १६ भन्दा बढी गाईवस्तुको मृत्यु भएको छ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनाप्रति गहिरो दुःख व्यक्त गरे। उनले मृतकका परिवारलाई तत्काल आर्थिक सहायता ९राहत रकम० उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न जिल्ला प्रशासनलाई कडा निर्देशन दिए ।
आँधीका कारण धेरै ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको छ र राहत तथा उद्धार कार्य जारी छ। मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।