झापा उवा संघमा ‘उद्योगी–व्यवसायी हित कोष’ स्थापना : डीएसपी खड्कालाई ‘फेरि भेटौँला’ सम्मान
भद्रपुर । झापा जिल्लाका आम उद्योगी–व्यवसायी एवम् जिल्लामा स्थापित उद्योग–वाणिज्य संघहरुको अभिभावक संस्था झापा उद्योग वाणिज्य संघले ‘उद्योगी–व्यवसायी हित कोष’ स्थापना गरेको छ ।
संघका कार्यवाहक अध्यक्ष राजकुमार राईको अध्यक्षतामा आज बसेको पदाधिकारी–सदस्यहरूको आकस्मिक बैठकले सो कोष स्थापना गरेको हो । संघमा आबद्ध उद्योगी–व्यवसायीहरूको क्षमता विकास एवम् विभिन्न सामाजिक क्रियाकलापमा सहयोग पुर्याउने उद्देश्यले कोष स्थापना गरिएको संघका महासचिव सुमन्त मैनालीले जानकारी दिए ।
आज बैठकमा सहभागी कार्यसमिति सदस्य अरुणकुमार मित्रुका (महावीर)–ले आफ्नो जन्मदिनको अवसर पारेर कोषका लागि रु. २५ हजार रुपैयाँ सहयोग गर्दै कोषमा रकम जम्मा गर्ने कार्यको सुरुआत गरेका छन् । उनले संघले अत्यन्त उपयोगी कार्यक्रम सुरु गरेको भन्दै आफूले कोषका लागि २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । उनलाई कार्यसमितिको तर्फबाट अध्यक्ष राजकुमार राईले जन्मदिनको शुभकामनासहित कोष वृद्धिमा सहयोग पुर्याएकोमा धन्यवाद ज्ञापन गरे भने सहभागी सबैले मित्रुकालाई शुभकामना व्यक्त गरेका थिए ।
अध्यक्ष राईले अबउपरान्त कार्यसमितिका पदाधिकारी–सदस्य मात्र नभई संघमा आबद्ध सदस्यहरूको पनि जन्मदिन संघमा उत्साहका साथ मनाइने बताउँदै जन्मदिन मनाउने सदस्यले कोषमा स्वैच्छिक रुपमा आर्थिक योगदान गर्न सक्ने जानकारी गराए । उनले कोष सञ्चालनका लागि चाँडै कार्यविधि निर्माण गर्ने पनि बताए ।
त्यसैबीच, झापाबाट नेपाल प्रहरीको २ नं गण काठमाडौँमा सरुवा भएका जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी खगेन्द्रबहादुर खड्कालाई संघले ‘फेरि भेटौँला’ कार्यक्रमसहित सम्मान गरेको छ ।
संघमा आयोजित कार्यक्रमका बीच प्रनाउ खड्कालाई कार्यवाहक अध्यक्ष राजकुमार राईले मायाको चिनोसहित सम्मानपत्र प्रदान गरेका थिए ।महासचिव सुमन्त मैनालीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सीता ढकाल, कोषाध्यक्ष पवन श्रेष्ठलगायत सदस्यहरूले सम्मानित प्रनाउ खड्कालाई खादा पहिल्याएका थिए ।
झापा रहुन्जेल प्रनाउ खड्काले जिल्लाको शान्ति–सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा विवादरहित ढङ्गबाट कार्यसम्पादन गरेकोमा उनलाई ‘फेरि भेटौँला’ कार्यक्रमसहित सम्मान गरिएको अध्यक्ष राईले बताए । सो अवसरमा प्रनाउ खड्काले संघले गरेको सम्मानप्रति आभार व्यक्त गरेका थिए ।