भद्रपुरमा अपाङ्गता भएका व्यक्तिको प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न
भद्रपुर । अपाङ्गता भएका व्यक्तिहरूमा लुकेर रहेका सिप, क्षमता र प्रतिभाको पहिचान गर्दै उनीहरूप्रति सकारात्मक दृष्टिकोण विकास गर्ने उद्देश्यले भद्रपुरमा प्रतिभा पहिचान तथा प्रस्फुटन कार्यक्रम सम्पन्न भएको छ ।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, भद्रपुर नगरपालिका र करुणा फाउन्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालन भइरहेको “अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम” अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो ।
स्थानीय अपाङ्गता समन्वय समितिकी संयोजक तथा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको अध्यक्षता तथा नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा व्हिलचेयर दौड, चेस प्रतियोगिता तथा सुन्दर अक्षर लेखन प्रतियोगिता गरिएको थियो । साथै गायन, नृत्य, कविता, मादल वादन र मुक्तक प्रस्तुति समेत गरिएको थियो ।
चेस प्रतियोगितामा भद्रपुर–५ का चन्दनकुमार महतो प्रथम, भद्रपुर–९ का धनबहादुर सुनुवार द्वितीय र भद्रपुर–५ का तिनताल राजवंशी तृतीय भएका छन् । व्हिलचेयर दौड प्रतियोगितामा भद्रपुर–३ का हर्कमान विश्वकर्मा प्रथम, भद्रपुर–४ का दिनलाल माझी द्वितीय, प्रमेश तामाङ तृतीय तथा भद्रपुर–८ का पूरणदास भट्टराई सान्त्वना भए ।
त्यस्तै सुन्दर अक्षर लेखन प्रतियोगितामा भद्रपुर–७ का अजय सुवेदी प्रथम, भद्रपुर–४ का भेषराज काफ्ले द्वितीय, भद्रपुर–३ का हर्कमान विश्वकर्मा तृतीय तथा भद्रपुर–५ का तरुण राजवंशी सान्त्वना भए । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेहरूलाई क्रमशः ५ हजार, ४ हजार, ३ हजार र २ हजारले पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा २०० भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो । तीमध्ये ४० जनाले विभिन्न प्रतियोगितामा भाग लिनुका साथै आफ्ना कला र प्रतिभा प्रस्तुत गरेका थिए । प्रतियोगिता तथा अन्य विधामा सहभागी सम्पूर्ण प्रस्तुतिकर्तालाई प्रोत्साहन स्वरूप नगद रु १ हजार र प्रमाणपत्र प्रदान गरिएको सामाजिक विकास शाखाका नरेन्द्र प्रधानले जानकारी दिए ।
सो कार्यक्रममा वडा नम्बर ५ का कार्यवाहक अध्यक्ष जेष्ठमल ठाकुर, कार्यपालिका सदस्य सिता कुमारी गुरुङ, करुणा फाउण्डेशन नेपालका जिल्ला संयोजक निश्चल घिमिरे, पालिका संयोजक अञ्जना लामिछाने, भद्रपुर सहयात्री संस्थाका अध्यक्ष धनजुजु श्रेष्ठ, शिक्षा शाखा प्रमुख पवित्रा ढकाल, नेपाल अपाङ्ग संघ (खगेन्द्र नवजीवन केन्द्र) भद्रपुरका कार्यवाहक अध्यक्ष पवन श्रेष्ठ, झापा नेत्रहीन संघका पूर्व अध्यक्ष तथा स्थानीय अपाङ्गता समन्वय समितिका उपाध्यक्ष द्रोणाचार्य निरौला, मेची बहिरा संघका अध्यक्ष देवीप्रसाद निरौला, रेडक्रस सोसाइटी उपशाखा भद्रपुरका सभापति केदार महत तथा कञ्चनजङ्घा अपाङ्ग कल्याण संघका अध्यक्ष कृष्णप्रसाद गेलाललगायतको उपस्थिति रहेको थियो ।
सामाजिक विकास शाखा प्रमुख जीवनकला राउतले स्वागत मन्तव्य राखेकी कार्यक्रममा भने कार्यक्रम सञ्चालन सहजकर्ता पूजा श्रेष्ठले गरेकी थिइन् । दोभासेको रुपमा सहजीकरण मेची बहिरा सङ्घकी सहजकर्ता रिया पोख्रेलले गरेकी थिइन् ।भद्रपुर नगरपालिका सामाजिक विकास शाखाको आयोजना तथा भद्रपुर सहयात्री संस्थाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।