झापामा मदिरा सेवनपछि विवाद हुँदा एक महिलाको मृत्यु, युवक पक्राउ
झापाको अर्जुनधारामा मदिरा सेवनपछि भएको विवादको क्रममा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–८ कुशलचोक निवासी २९ वर्षीया काजल बस्नेत सुवेदी रहेकी छन् । उनका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा हाल दुबईमा रहेको जनाइएको छ ।
गत जेठ ४ गते राति करिब ९ः१५ बजे एम्स बोर्डिङ स्कूलको पश्चिमतर्फ रहेको खुल्ला चौरमा काजल र अर्जुनधारा–५ कञ्चनबाडी निवासी २४ वर्षीय किरण गौतम अत्यधिक मदिरा सेवन गरी बसेका थिए । सोही क्रममा उनीहरूबीच कुनै विषयमा विवाद हुँदा किरणले काजललाई धकेलेका थिए ।
धकेल्ने क्रममा काजल चौरको बीच भागमा सिमाना छुट्याउन बनाइएको कङ्क्रिटको प्लममा ठोक्किदा टाउकोमा गम्भीर चोट लागेर बेहोस भएकी थिइन् । बेहोस अवस्थामा रहेकी उनलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि स्थानीय शंकर अस्पताल पुर्याएका थिए । पछि थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड हुँदै प्रादेशिक मेची अस्पताल भद्रपुर लगिएको थियो । उनको उपचारकै क्रममा आज बिहान ४ः४० बजे मृत्यु भएको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । घटनापछि इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले आरोपित किरण गौतमलाई घटनास्थलबाटै पक्राउ गरेको थियो । उनलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ज्यान सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।