२०८३ जेष्ठ ७ गते , विहीबार

कक्षा ११ को पठनपाठन असार १ गतेबाट थाल्नू : विकास केन्द्र

sajilo news
काठमाडौं
२०८३ जेष्ठ ६ गते , बुधबार
कक्षा ११ को पठनपाठन असार १ गतेबाट थाल्नू : विकास केन्द्र

शिक्षा तथा खेलकुद मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा-११ को पठनपाठन असार १ गतेदेखि थाल्न सबै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ। सरकारले असार १ बाट पठनपाठन थाल्ने निर्णय गर्दै परिपत्र जारी गरेपछि विकास केन्द्रले आज(बुधबार) यस्तो निर्देशन दिएको हो।

सूचनामा भनिएको छ,‘प्रस्तुत विषयमा शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबार, काठमाडौंको च.न. ६४१ मिति २०८३/०२/०४ को पत्रानुसार शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पठनपाठन वि.स. २०८३ असार १ गतेबाट गर्ने गरी सूचना प्रवाह एवं पत्राचार गर्न भनी लेखी आएकाले सोही अनुसार हुन निर्णयानुसार अनुरोध छ।’

यसपटक राष्ट्रिय परीक्षा बोर्डले एकमहिना अर्थात वैशाखभित्रै २०८२ को एसइईको नतिजा प्रकाशित गरेपछि कक्षा-११ को पठनपाठन चाँडै थाल्ने सरकारले निर्णय गरेको हो।

गत सोमबार एसइई प्रकाशित भएकाे थियाे। प्रकाशित एसइईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। चैत १९ गतेदेखि सुरू भई २९ गते सकिएको एसइईमा ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी थिए।

यसअघिसम्म एसइई नतिजा प्रकाशित हुन करिब तीन महिना लाग्ने गरेको थियो। प्राय: असार तेस्रो सातामा नतिजा प्रकाशित भई असार मसान्तबाट मात्रै कक्षा-११ को नयाँ भर्ना खुल्ने गरेको थियो। यसपालि भने असार १ देखि नै पठनपाठन सुरू हुने भएकाे छ।

सम्बन्धित समाचार