२०८३ जेष्ठ ७ गते , विहीबार

झापा प्रहरीद्वारा अवैध जोडीको नाममा रेडकर्नर नोटिस जारी

sajilo news
झापा
२०८३ जेष्ठ ७ गते , विहीबार
झापा प्रहरीद्वारा अवैध जोडीको नाममा रेडकर्नर नोटिस जारी

अपराध कर्ममा संलग्न अवैध जोडीको नाममा रेडकर्नर नोटिस जारी गरिएको छ । कनकाई नगरपालिका–१ स्थित जामुनवारीका भीमबहादुर दर्जीकी बुहारी पूजा महरा दर्जी र उनीसँग अवैध सम्बन्ध रहेका भारतीय नागरिक इब्राहिम( कान्टु) को नाममा रेडकर्नर नोटिस जारी गरिएको हो । पूजा दुबईमा रहेकी छन् भने भारत दिघलबैंक घर भएका इब्राहिम लुकेर बसेका छन् ।

भीमबहादुरका २७ वर्षीय छोरा हेमन्त दर्जी (विशाल) ले गत बैशाख १ गते घरमै आत्महत्या गरेका थिए । बुहारी पूजा महरा दर्जीको परपुरुष इब्राहिमसँग अनैतिक सम्बन्धका कारण छोराले आत्महत्या गर्न बाध्य भएको दर्जी परिवारको आरोप छ । इब्राहिमलगायतका युवाहरूले बुहारीमाथि अनैतिक कार्य गरेको भिडियो परिवारलाई पठाउने गरेपछि उनीहरूलाई पक्राउ गरी अनुसन्धान गर्न सुरुमा प्रहरी चौकी दुर्गापुरमा जानकारी गराएका थिए । त्यहाँबाट इलाका प्रहरी कार्यालय सुरुङ्गा र इलाका प्रहरी कार्यालय बिर्तामोड हुँदै जिल्ला प्रहरी कार्यालयसम्म पटक–पटक पुगेर निवेदन दिँदासम्म प्रहरीले इब्राहिमलाई पक्राउ गरी अनुसन्धान नगरिदिँदा भतिज विशाललाई गुमाउनु परेको काका कैलाश नेपालीले आरोप लगाए । विशाल कतारमै रहँदा दर्जी परिवारका सदस्यहरूलाई इब्राहिमले फोनमा मनपरी बोल्ने गरेको र बुहारीका अनैतिक भिडियोहरू पठाउने गरेको परिवारको भनाई छ ।

दर्जी परिवारले प्रहरीसमक्ष आफ्ना समस्या जानकारी गराउँदा वैदेशिक रोजगारको सिलसिलामा कतारमा रहेका विशाललाई घर बोलाउन दबाब दिएको र यदि नबोलाए इन्टरपोलमार्फत झिकाउने प्रहरीले धम्कीसमेत दिएको काका महेशले आरोप लगाए । विशाललाई गत माघमा परिवारले घर बोलाएको थियो ।

उनी घर आएसँगै इब्राहिमले बुहारीको अवैध गतिविधिको भिडियो पठाउने गरेको , ‘मेरी श्रीमती हो र नानी पनि मेरै हो’ भनेर टर्चर दिने गरेको परिवारले जनाएको छ । प्रहरीले इब्राहिमलाई पक्राउ गरेर अनुसन्धान नगरेकै कारण छोराले आत्महत्या गर्न बाध्य भएको महेशको आरोप छ ।

हाल बुहारी दुबईमा रहेको र जसरी आफूहरूले निवेदन दिँदा प्रहरीले छोरालाई विदेशबाट झिकाउन लगायो ,त्यसरी नै बुहारीलाई पनि झिकाएर घटनाको विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न उनीहरूको माग छ । फेक आइडी बनाएर इब्राहिमले दर्जी परिवारलाई धम्की दिएको उजुरी परेपछि जाहेरी दर्ता गराएको प्रहरीले विशालको आत्महत्यापछि इब्राहिम र पूजाको नाममा रेडकर्नर नोटिस जारी गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले बताए । ‘ प्रहरीले प्रयास जारी राखेको छ ,ती दुई अभियुक्त पक्राउ पर्छन् ’ डीएसपी श्रेष्ठले भने ।

सम्बन्धित समाचार