२०८३ जेष्ठ ८ गते , शुक्रबार
लागुऔषध मुद्दाका फरार अभियुक्त भद्रपुरबाट पक्राउ
भद्रपुर । लागुऔषध मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–८ बस्ने ४१ वर्षीय गुल्लु भन्ने मोहमद असर्फ शेख रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक विजय चौहानको कमान्डमा खटिएको टोलीले आज बिहान करिब १०ः३० बजे गोप्य सूचनाको आधारमा भद्रपुर नगरपालिका–८ स्थित एसपी मोडबाट फरार रहेका शेखलाई पक्राउ गरेको हो ।
झापा जिल्ला अदालतले २०८१ असोज ११ गते गरेको फैसलाअनुसार शेखलाई लागुऔषध मुद्दामा १० वर्ष कैद सजाय र ७५ हजार रुपैयाँ जरिवाना तोकिएको थिए । उनी सोही दिनदेखि फरार रहेका थिए । पक्राउ परेका शेखलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत झापामा उपस्थित गराई जिल्ला कारागार झापा चलान गरिसकेको प्रहरीले जनाएको छ ।