बिर्तामोडको सात वटा स्पा तथा मसाज सेन्टरमा प्रहरीको छापा, तीन युवती पक्राउ
झापाको बिर्तामोडमा सञ्चालित सात वटा स्पा तथा मसाज सेन्टरमा प्रहरीले छापा मारेर तीनजना युवतीलाई पक्राउ गरेको छ । बिर्तामोडका स्पा तथा मसाज सेन्टरहरू यौन क्रियाकलाप हुने गरेको जनगुनासो आएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले मसाज सेन्टरमा आइतबार छापा मारेको हो ।
प्रहरी टोलीले बिर्तामोड नगरपालिका-१ स्थित भाटभटेनी नजिक रहेको कोहिनुर, सोही वडाको होटेल आनन्द एन्ड स्पा, बिर्तामोड-५ स्थित हनुमान कम्प्लेक्समा रहेको नेचर युनीसेक्स सैलुन एन्ड स्पा, सोही वडाको मेघा कम्प्लेक्समा रहेको वारियर स्पा, मेघा कम्प्लेक्समै रहेको द अब्सुलोटे प्रोफेसनल स्पा एन्ड सैलुन र बिर्तामोड-५ कृषि थोक रोडमा रहेको कर्मा स्पामा छापा मारेको हो । ती स्पाहरूमा छापा मार्दा कर्मा स्पाका सञ्चालिकासहित ३ जना पक्राउ परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकले जानकारी दिए । कर्मा स्पा सेन्टरमा शङ्कास्पद गतिविधि भएको आशङ्कामा उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको डीएसपी पाठकले बताए ।
दुई दिनअघि इलाका प्रहरी कार्यालय बिर्तामोडको कमाण्ड सम्हालेका डीएसपी पाठकले सामाजिक विकृतिविरुद्ध आएलगतै एक्सनमा उत्रिएका हुन् । प्रहरी स्रोतका अनुसार बिर्तामोडका स्पाहरूमा हेप्पी इन्डिङका नाममा यौन क्रियाकलाप गराउँदै आएको बताए । मसाज गराउनका लागि आउने पुरुष ग्राहकहरूले मसाज गरिसकेपछि स्पामा रहेका युवतीहरूलाई आफ्ना यौन अङ्गलाई हस्त मैथुन र मुख मैथुन गराउने गरेका छन् । जसलाई हेप्पी इन्डिङ भन्ने गरिएको छ ।
प्रहरीको तथ्याङ्क अनुसार बिर्तामोडमा ९ वटा स्पा रहेका छन् । त्यसबाहेक लुकिछिपी स्पा चलाउनेहरू पनि छन् । मसाज गरिदिए बापत बिर्तामोडका स्पाहरूले एक हजारदेखि २ हजार पाँच सयसम्म सेवा शुल्क लिने गरेका छन् । हेप्पी इन्डिङका लागि भने अलग्गै खर्च गर्नुपर्छ । काम गर्ने युवतीहरूलाई पाँच सयदेखि हजार रुपैयाँसम्म टिप्स दिएपछि उनीहरूले हेप्पी इन्डिङ गरिदिने गरेको प्रहरी स्रोतको दाबी छ ।