खैरो हिरोइनसहित काठमाडौँका दुईजना काँकडभिट्टाबाट पक्राउ
झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेची पुलबाट प्रहरीले खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो इकाई कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले आज दिउँसो करिब ३ः३० बजे भारतबाट नेपालतर्फ सिटी रिक्सा मार्फत आउँदै गरेका दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२५ असनचोक बस्ने ४० वर्षीय अजय चित्रकार र काठमाडौँ महानगरपालिका–२३ ओमबहाल टोल बस्ने ३७ वर्षीय सुशील मानन्धर रहेका छन्।
प्रहरीका अनुसार उनीहरूमाथि शङ्का लागेर चेकजाँच गर्दा अजय चित्रकारको साथबाट प्लास्टिकसहित १५ ग्राम १०० मिलिग्राम र प्लास्टिक बाहेक १२ ग्राम ४२० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने लिसाइलो पदार्थ बरामद गरिएको हो।लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।