स्वामी विवेकानन्द सरस्वती महाराजको निधन
वैदिक सनातन परम्परा, संस्कृत शिक्षा र अध्यात्म चेतनाका अग्रदूतका रूपमा परिचित महामनीषी स्वामी विवेकानन्द सरस्वती महाराजको निधन भएको छ। लामो समयदेखि अध्यात्म, धर्मप्रचार, गुरुकुल शिक्षा र वेदान्त प्रवचनमार्फत हजारौँ श्रद्धालु र विद्यार्थीलाई मार्गदर्शन गर्दै आएको उनको शनिबार साँझ बुटवल नयाँमिलस्थित आश्रममा निधन भएको हो। उनी अर्बुद रोगबाट पीडित थिए।
२०१२ भदौ १४ गते बाग्लुङको तोरीखोलामा जन्मिएका उनको बाल्यकालीन नाम खेमराज गैरे थियो। सानैदेखि वैराग्य र साधनाप्रति झुकाव राख्ने उनले सांसारिक जीवनभन्दा अध्यात्मको मार्ग रोजे।
पारिवारिक जीवनमा बाँध्ने प्रयास भए पनि उनको मन साधुसन्तको सान्निध्य र तपस्यामै केन्द्रित रह्यो। पछि घर छाडेर साधनायात्रामा निस्कनुभएका उनले स्वर्गद्वारी परम्पराका झ्याम्पाली महाराज, योगसिद्ध छविलाल गुरु तथा स्वामी परमानन्द सरस्वतीजस्ता महापुरुषहरूको सान्निध्य प्राप्त गरे।
स्वामी परमानन्द सरस्वतीबाट ब्रह्मचर्य दीक्षा लिएपछि उनी “खिमानन्द ब्रह्मचारी”का रूपमा परिचित भए भने पछि स्वामी सत्यप्रकाशानन्द सरस्वतीबाट सन्न्यास दीक्षा ग्रहण गरी “स्वामी विवेकानन्द सरस्वती” नामले प्रसिद्ध भए।
वृन्दावन र हरिद्वारमा रहेर उनले वेदान्त, भागवत तथा संस्कृत शास्त्रको गहिरो अध्ययन गरेका थिए। वृन्दावनमा रहँदा उनले विश्वप्रसिद्ध वेदान्ताचार्य स्वामी अखण्डानन्द सरस्वतीको सान्निध्य प्राप्त गरेका थिए। उनले धर्मप्रचारसँगै शिक्षा क्षेत्रमा पनि उल्लेखनीय योगदान पुर्याएका छन्।