२०८३ जेष्ठ १४ गते , विहीबार

लागुऔषध दुर्व्यसन कार्यक्रम भएकै दिन भद्रपुरमा ब्राउन सुगरसहित तीनजना पक्राउ

sajilo news
पार्थ मण्डल
२०८३ जेष्ठ १३ गते , बुधबार
लागुऔषध दुर्व्यसन कार्यक्रम भएकै दिन भद्रपुरमा ब्राउन सुगरसहित तीनजना पक्राउ

भद्रपुर । भद्रपुरमा लागुऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन भएकै दिन ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । 

भद्रपुर नगरपालिकाले मंगलबार दिउँसो जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा लागुऔषध दुर्व्यसन अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । सोही दिन प्रहरीले  भद्रपुर क्षेत्रमा छुट्टाछुट्टै समयमा तीन जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । 

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान करिब ११ः४० बजे भद्रपुर नगरपालिका–५ देविबस्तीमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका भद्रपुर–५ देविबस्ती निवासी २९ वर्षीय जहागी शेखलाई शंकाको आधारमा चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा उनले दाहिने हातको मुठ्ठीमा लुकाइछिपाइ ल्याउँदै गरेको प्लास्टिक बाहेक २ ग्राम ३०० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । 

त्यस्तै मंगलबार साँझ करिब ६ः२० बजे भद्रपुर–५ मेची पुल क्षेत्रमा वडा प्रहरी कार्यालय भद्रपुर र लागुऔषध ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र १–०१–०१४ प ९५ नम्बरको मोटरसाइकल चालक मेचीनगर–१० धुलाबारी टोल निवासी अन्दाजी २७ वर्षीय गुलाम रसुल मियाँलाई पक्राउ गरेको छ । चेकजाँचका क्रममा उनले नाकको दाहिने प्वालभित्र लुकाएर ल्याउँदै गरेको प्लास्टिक बाहेक १ ग्राम ६०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

त्यसैगरी मंगलबार साँझ करिब ७ः२० बजे मेची पुल क्षेत्रमा नै संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका इलाम माइजोगमाई गाउँपालिका–१ घर भई हाल बिर्तामोड बस्दै आएका २४ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार तामाङले दाहिने हातको मुठ्ठीमा लुकाइराखेको प्लास्टिक बाहेक ३ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।  पक्राउ परेका तीनै जनालाई वडा प्रहरी कार्यालय भद्रपुरले थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइसकेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार