भद्रपुरमा साना तथा मझौला उद्यमीका समस्या र सम्भावनामाथि बहस
भद्रपुर । झापाको भद्रपुरमा साना तथा मझौला उद्यमीहरूको प्रवर्द्धन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।उदय परियोजनाबीच भएको सम्झौता अनुसार नेपाल उद्योग वाणिज्य महासंघ कोशीको सहयोग तथा झापा उद्योग वाणिज्य संघ झापाको आयोजनामा बुधबार संघको कार्यालयमा साना तथा मझौला उद्यमीहरूको प्रवर्द्धन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
संघका कार्यवाहक अध्यक्ष राजकुमार राईको अध्यक्षता तथा भद्रपुर नगरपालिका नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमामा सम्पन्न भएको कार्यक्रममा उदय परियोजनाका राजु उप्रेती र नवीन खनालले परियोजनाको उद्देश्य, उद्यमी प्रवर्द्धन तथा व्यवसाय विस्तारका सम्भावनाबारे जानकारी गराएका थिए ।
नेपालमा साना तथा मझौला उद्यमीहरूको प्रवर्द्धनको मुख्य उद्देश्य रोजगारी सिर्जना, स्थानीय उत्पादन वृद्धि, आर्थिक सशक्तीकरण तथा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु हो । साना व्यवसायले ग्रामीण तथा शहरी क्षेत्रमा आयआर्जनको अवसर विस्तार गर्नुका साथै उत्पादन र सेवा क्षेत्रलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताइएको छ । भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की विशिष्ट अतिथि रहेको कार्यक्रममा सहभागी उद्यमीहरूले विभिन्न जिज्ञासा तथा सुझाव राखेका थिए ।
त्यस अवसरमा झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, रोटरी क्लब अफ भद्रपुरका अध्यक्ष धनजुजु श्रेष्ठ, नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुली तथा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान केन्द्रीय सदस्य उमेश डालमियालगायतले साना तथा मझौला उद्यमीहरूको विकास, बजार विस्तार तथा सरकारी सहकार्यका विषयमा आआफ्नो धारणा राखेका थिए ।