२०८३ जेष्ठ १५ गते , शुक्रबार

झापामा ब्राउन सुगर भित्राउने आमा छोरीसहित तीन जना पक्राउ

sajilo news
झापा
२०८३ जेष्ठ १४ गते , विहीबार
झापामा ब्राउन सुगर भित्राउने आमा छोरीसहित तीन जना पक्राउ

भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउँदै गरेका भारतीय आमा-छोरीसहित एक युवकलाई प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेको छ । आज साँझ करिब ६ः४५ बजे झापाको गौरीगञ्ज–२ आँपगाछी सीमा क्षेत्रमा भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका भारत किशनगञ्ज जिल्ला सिङ्गीमारी पञ्चायत–४ बस्ने ३६ वर्षीया रुकमणी देवी र उनकी १६ वर्षीया छोरीलाई प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध ओसारपसार भइरहेको गोप्य सूचनाको आधारमा प्रहरी चौकी कोरोबारी र बीओपी आँपगाछीबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट प्लाष्टिकसहित २३ ग्राम २९० मिलिग्राम तथा प्लाष्टिकबाहेक २० ग्राम ३०० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखेर थप अनुसन्धान भइरहेको छ । त्यस्तै आज दिउँसो ३ः३० बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर–६ स्थित पुरानो मेची पुल क्षेत्रमा भारतको पानीट्यांकीबाट नेपालतर्फ साइकलमा आउँदै गरेका मेचीनगर–३ निवासी ३२ वर्षीय दुखु मियाँलाई पनि लागूऔषधसहित पक्राउ गरेको छ ।

प्रहरीले शंका लागेर चेकजाँच गर्दा साइकलको सिटमुनि लुकाइराखेको अवस्थामा प्लाष्टिकसहित २ ग्राम ५२० मिलिग्राम र प्लाष्टिकबाहेक २ ग्राम १७० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ । लागूऔषध र साइकलसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार