इलाममा ट्रक ६०० मिटर तल खस्दा चालक र सह-चालक घाइते
इलाम नगरपालिका–११ राकसे घोर्ले भिरस्थित केचना कञ्चनजङ्घा भित्री सडकखण्डमा ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन्।
गएराति करिब ८ बजे इलामबाट झापातर्फ गोलिया लोड गरी आउँदै गरेको मे १ ख २२६७ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी ६०० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्रक चालक झापाको बिर्तामोड निवासी ५६ वर्षीय कमल आचार्य गम्भीर घाइते भएका छन्। उनको टाउको, आँखा, ढाड तथा खुट्टामा चोट लागेको छ। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि बीएण्डसी अस्पताल झापा पठाइएको छ। चिकित्सकका अनुसार उनको अवस्था गम्भीर रहेको र बोल्न नसक्ने अवस्थामा रहेका छन्।
त्यसैगरी ट्रकमा सवार सहचालक इलाम देउमाई नगरपालिका–३ शान्तिडाँडा निवासी २३ वर्षीय लक्ष्मण राउत पनि घाइते भएका छन्। उनको ढाड तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। जिल्ला अस्पताल इलाममा सामान्य उपचारपछि थप उपचारका लागि बीएण्डसी अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्रक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।