झापा इनर्जीको प्लान्टमा आगलागी, अन्दाजी ६ करोड बराबरको क्षति
झापाको शिवसताक्षी नगरपालिका- ४ बोलोचोकमा रहेको झापा इनर्जीको प्लान्टमा आगलागी भएको छ । आज दिउँसो १.४२ बजे सौर्य ऊर्जा उत्पादन गर्ने झापा इनर्जी लिमिटेडमा ओभर टेम्परेचरका कारण मुख्य इन्भर्टरमा आगलागी भएको हो ।आगलागीबाट विभिन्न मेसिनहरू जल्दा अन्दाजी ६ करोड बराबरको क्षति भएको जनाइएको छ । इलाका प्रहरी कार्यालय झिलझिले, इलाका प्रहरी कार्यालय शिवगंजको प्रहरी टोली, शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाको दमकल साथै स्थानीय बासिन्दाहरूको संयुक्त प्रयासमा आगो दिउँसो २;५० बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।झापा इनर्जीमा झापा क्षेत्र नं ४ का पूर्व सांसद लालप्रसाद साँवाको मुख्य लगानी रहेको छ ।
यसैबीच सो आगलागीपछि झापा इनर्जीबाट उत्पादन हुँदै आएको करिब ५ मेगावाट विद्युत् उत्पादन अस्थायी रूपमा बन्द भएको छ । झापा इनर्जीका प्रबन्ध सञ्चालक सुवास भट्टराईले एक प्रेस विज्ञप्ति जारी गरी १० मेगावाट क्षमताको सौर्य विद्युत् आयोजनामा जडान गरिएका दुई वटा ५ एमभीए क्षमताका इन्भर्टरहरूमध्ये एउटा इन्भर्टरमा आगलागी भएको बताएका छन् । उनले उक्त घटनापछि सो इन्भर्टरमार्फत उत्पादन हुँदै आएको करिब ५ मेगावाट विद्युत् उत्पादन अस्थायी रूपमा बन्द भएको बताउँदै कम्पनीले प्रभावित इन्भर्टरलाई यथाशीघ्र प्रतिस्थापन गरी आयोजनाबाट पुनः पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु गर्ने तयारी गरिरहेको जानकारी दिएका छन् ।
आगलागीको कारणबारे कम्पनीको आन्तरिक प्राविधिक टोलीले विस्तृत अनुसन्धान गरिरहेको जनाइएको छ । प्रारम्भिक अध्ययनका आधारमा इन्भर्टरको आन्तरिक प्राविधिक समस्याका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । उक्त इन्भर्टर खरिद गर्दा प्राप्त वारेन्टी अवधि अझै बाँकी रहेको र सम्बन्धित उत्पादक तथा आपूर्तिकर्ता कम्पनीलाई घटनाबारे औपचारिक जानकारी गराइसकिएको भट्टराईले बताएका छन् ।