भद्रपुरमा भन्सार छलेर भित्राइएको कपडा बरामद
भद्रपुर । भद्रपुर नगरपालिका–५ देवीबस्तीस्थित सीमावर्ती क्षेत्रमा भारतबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याइएको रेडिमेड कपडा प्रहरीले बरामद गरेको छ ।
मंगलबार दिउँसो १ः४० बजे ९९ नम्बर सीमा स्तम्भ हुँदै भारतबाट नेपालतर्फ ल्याइँदै गरेको लेडिज उलन रेडिमेड कोट लुकाइछिपाई ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी सहायक निरीक्षक युवराज श्रेष्ठको कमान्डमा टोली परिचालन गरिएको थियो ।
प्रहरी टोली घटनास्थलमा पुग्ने बित्तिकै सामान बोकेका व्यक्तिहरू कपडा छाडेर फरार भएका थिए । त्यसपछि प्रहरीले बेवारिसे अवस्थामा रहेको कपडा नियन्त्रणमा लिएको थियो ।
बरामद गरिएको लेडिज उलन रेडिमेड कोटको अनुमानित मूल्य ७३ हजार ५०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ । बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । पछिल्लो समयमा दोभान नाका, गणेश मन्दिर पूर्व, देवीबस्ती नाका र मेची पुलमूनिबाटै रातको समयमा लत्ताकपडा, धुलो चिया, सुर्ती लगायतका सरसामान भन्सार छलेर धमाधम नेपाल भित्रिरहेको कारोबारी स्रोतको दाबी छ ।