कचनकवलमा ६९ ग्राम ब्राउन सुगरसहित भारतीय युवक पक्राउ
झापा । झापाको कचनकवलमा लागूऔषध ब्राउन सुगरसहित एक भारतीय युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा कचनकवल गाउँपालिका–६ बनियानी क्षेत्रमा चेकजाँच गर्ने क्रममा भारतको किशनगञ्ज जिल्ला दलेगाउँ पञ्चायत–१ बस्ने २० वर्षीय युबेद राजालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सोमबार साँझ करिब ५ बजे शङ्कास्पद अवस्थामा रहेका राजाको शरीर तथा साथमा रहेको सामान खानतलासी गर्दा प्लास्टिकबाहेक ६९ ग्राम ६०० मिलिग्राम ब्राउन सुगरे बरामद भएको थियो। साथै, बीआर ३२ भी ६९०९ भारतीय नम्बर प्लेटको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका राजालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा ल्याइएको छ। घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।