डाका समूहको गोली प्रहारबाट श्रीमान-श्रीमती घाइते
महोत्तरीको सोनमामा डाकाहरुको एक समूहले गोली चलाउँदै श्रीमान श्रीमती घाइते भएका छन् । गएरातिको समयमा सोनमा गाउँपालिका–०३, खखना दक्षिणबारी टोलमा लुटपाट गर्न आएका व्यक्तिसँग प्रतिवाद गर्दा श्रीमान–श्रीमती नै घाइते भएका हुन् ।
५/६ जना अपरिचित व्यक्तिसँग प्रतिवाद हुँदा २७ वर्षीय रामईश्वर यादव र उनकी श्रीमती २२ वर्षीया किरण यादव घाइते भएका हुन् । उक्त समूहले गोली प्रहार गर्दा दुवै जना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
घाइतेहरूको प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पन्चलाल गोलेले जानकारी दिए। घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ भने घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको डिएसपी गोलेले बताए। सम्सी गाँउपालिकामा कार्यरत रामईश्वर सुसुराली घर खखनामा बस्दै आएका थिए ।