२०८३ जेष्ठ २० गते , बुधबार

प्रादेशिक अस्पताल भद्रपुरमा आईएसओ प्रमाणित प्रयोगशाला र चश्मा पसल सञ्चालनमा

sajilo news
पार्थ मण्डल
२०८३ जेष्ठ २० गते , बुधबार
प्रादेशिक अस्पताल भद्रपुरमा आईएसओ प्रमाणित प्रयोगशाला र चश्मा पसल सञ्चालनमा

झापा । झापाको भद्रपुर–८ स्थित प्रादेशिक अस्पतालले आफ्नो सेवा विस्तार थप गरेको छ ।  अस्पताल प्रशासनले बिरामीको सेवासुविधालाई मध्यनजर गरी बुधबारदेखि आईएसओ प्रमाणित प्रयोगशाला र चश्मा पसल सञ्चालनमा ल्याएको छ । 

अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार सेवा प्रदान गर्ने कोशी प्रदेशकै पहिलो आईएसओ प्रमाणित प्रयोगशाला र चश्मा पसलको एक कार्यक्रमका बीच कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूले उद्घाटन गरेका हुन् । 

उद्घाटन पश्चात् स्वास्थ्यमन्त्री लिम्बूले अस्पतालबाट प्रदान गरिने सेवाहरूको निरीक्षण समेत गरेका थिए । निरीक्षण पश्चात् स्वास्थ्यमन्त्री लिम्बूले अस्पतालमा राजनीति गर्नुभन्दा पनि एउटा नेपाली नागरिकको नाताले एकजुट भएर अघि बढेमा मात्र बिरामीले गुणस्तरीय सेवा पाउने बताएका छन् । 

अस्पतालमा देखिएका समस्या तथा सेवा सुविधा थपका बारेमा कोशी सरकारले सम्बोधन गर्ने स्वास्थ्यमन्त्री लिम्बूले प्रतिबद्धता समेत जनाएका छन् ।  अस्पतालमा देखिएका समस्याहरू हाम्रा सामूहिक समस्याहरू भएको बताउँदै उनले भने, ‘यस क्षेत्रका मानिसहरूको स्वास्थ्य सेवा प्रदान गर्ने यो संस्थाप्रति हामी सबै जिम्मेवार हुनुपर्छ ।’

त्यस्तै अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जय गुप्ताले नयाँ भवनबाट अस्पताल सञ्चालनमा ल्याएपनि त्यहाँ देखिएका समस्या लगायत जनशक्ति र स्वास्थ्य उपकरण अभावको बारेमा जानकारी गराउँदै स्वास्थ्यमन्त्री लिम्बूलाई माग पत्र बुझाएका छन् । त्यसैगरी भद्रपुर नगरपालिकाका नगर प्रमुख तथा अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका सदस्य गणेश पोखरेलले मेडिकल कलेज स्थापनाका लागि स्वास्थ्यमन्त्री लिम्बूलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । नगरपालिकाले  कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्रालयलाई सम्बोधन गर्दै पठाएको पत्रमा सङ्घीयता कार्यान्वयनपछि प्रदेश सरकारको मातहतमा रहेको अस्पताललाई मेडिकल कलेज स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको छ ।

पत्रमा भद्रपुरस्थित प्रादेशिक अस्पताल कोशी प्रदेशको एक मात्र ठूलो सरकारी अस्पताल भएकाले यसलाई मेडिकल कलेजमा स्तरोन्नति गर्नु प्रदेशको स्वास्थ्य क्षेत्रको विकासका लागि महत्त्वपूर्ण हुने उल्लेख गरिएको छ । यसअघि पनि विभिन्न समयमा मेडिकल कलेज स्थापनाका लागि सिफारिस पत्र पठाइएको भए पनि हालसम्म प्रक्रिया अघि नबढेको भन्दै नगरपालिकाले चासो व्यक्त गरेको छ ।

पत्रमा कोशी प्रदेशका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन, स्वास्थ्य सेवा विस्तार तथा प्रदेश प्रशिक्षण प्रतिष्ठान, कलेजसँगै अस्पताल सञ्चालन गर्न सहज हुने भएकाले मेडिकल कलेज स्थापना गर्न पहल गरिदिन अनुरोध गरिएको छ । 

नगरपालिकाले प्रादेशिक अस्पताल भद्रपुरलाई मेडिकल कलेजका रूपमा विकास गरी अस्पतालको स्तरोन्नति तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गरेको नगरप्रमुख पोखरेलले बताए । 

 

सम्बन्धित समाचार