सेकुवा कर्नरमा जुवा खेल्दै गरेको अवस्थामा १२ जना पक्राउ
सुनसरीको इटहरी नगरपालिका–६ स्थित सीतल सेकुवा कर्नरमा जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् ।विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले गएराति छापा मार्दा उनीहरूलाई जुवाको खालबाट नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेका अनुसार सो स्थानमा तास खेलिरहेको अवस्थामा नगद एक लाख एक हजार सात सय पैँतीस रुपैयाँ १ बुङ तास बरामद गरिएको छ ।
पक्राउ परेका व्यक्तिहरूमा इटहरी–६ बस्ने ४७ वर्षीय जुनलक राई, इटहरी–९ बस्ने २८ वर्षीय ताहिर साफी, इटहरी–६ बस्ने ६० वर्षीय रामप्रसाद चौलागाईं, इटहरी–८ बस्ने ३७ वर्षीय उमेश साह हलुवाई, इटहरी–६ बस्ने ४७ वर्षीय विनोद बोगटी रहेका छन् ।
त्यस्तै, सीतल सेकुवा कर्नरका सञ्चालक ५९ वर्षीय शुरबहादुर राउत, इटहरी–८ बस्ने २९ वर्षीय नजावुल मियाँ, २५ वर्षीय अमिर मियाँ, भोक्राहा नरसिंह गाउँपालिका–२ बस्ने २७ वर्षीय फारुक अन्सारी, २२ वर्षीय मफूज अन्सारी, रामधुनी नगरपालिका–९ बस्ने ३३ वर्षीय उमेश सदा र कोशी गाउँपालिका–१ बस्ने ३४ वर्षीय बैजनाथ यादवलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।