२०८३ जेष्ठ २२ गते , शुक्रबार

विश्व वातावरण दिवस : भद्रपुर क्षेत्रमा पाँच दिने वृक्षारोपण अभियान सुरु

sajilo news
झापा
२०८३ जेष्ठ २२ गते , शुक्रबार
विश्व वातावरण दिवस : भद्रपुर क्षेत्रमा पाँच दिने वृक्षारोपण अभियान सुरु

भद्रपुर । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने उद्देश्यले भद्रपुर नगरपालिका क्षेत्रमा पाँच दिने वृक्षारोपण अभियान सुरु गरेको छ । आज ६४ औं विश्व वातावरण दिवसको अवसर पारेर भद्रपुर–१ स्थित दियालो सामुदायिक वन उपभोक्ता समूहको आयोजना तथा भद्रपुर नगरपालिकाको सहकार्यमा दियालो वनमा लिचीको बिरुवा रोपेर अभियानको शुभारम्भ गरिएको हो ।

 वृक्षारोपण अभियान कार्यक्रममा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विद्यार्थी, पत्रकार सामुदायिक वन उपभोक्ता समूह तथा भद्रपुर नगरपालिकाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा वन क्षेत्रको दीर्घकालीन संरक्षण गर्ने उद्देश्यले वन क्षेत्रमा बिरुवाहरू रोपिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा वक्ताहरूले वातावरणीय सन्तुलन कायम राख्न वृक्षारोपणको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै प्रत्येक नागरिकले कम्तीमा एक बिरुवा रोपेर त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए। सहभागीहरूले वन क्षेत्रलाई थप हराभरा र वातावरणमैत्री बनाउन सामूहिक प्रयास आवश्यक रहेको औँल्याएका थिए ।

वन, वातावरण नगर समिति सदस्य अर्जुन बानियाको अध्यक्षता तथा नगरपालिकाकी उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्र, सव डिभीजन अधिकृत कुमार कार्की, जिल्ला महासंघ उपाध्यक्ष चन्द्र तामाङ, दियालो सामुदायिक वन उपभोक्ता समूह अम्बरबहादुर राई लगायतले मन्तव्य राखेका थिए । त्यसैगरी जेठ २३ गते भद्रपुर–२ का विशाल तथा कमलधाप सामुदायिक वन क्षेत्रमा, जेठ २४ गते भद्रपुर–४ को मायालु सामुदायिक वन क्षेत्रमा तथा जेठ २५ गते भद्रपुर–९ को चन्द्रगढी सामुदायिक वन क्षेत्रमा वृक्षारोपण कार्यक्रम आयोजना गरिनेछ।

यस्तै, जेठ २६ गते विगतका वर्षहरूमा रोपिएका बिरुवाहरूको अनुगमन तथा निरीक्षण कार्यक्रम सञ्चालन गरिने वन वातावरण शाखाका कर्मचारी नेत्र पोखरेलले जानकारी दिए । साथै सोही कार्यक्रममा 'र' बोट कृषि रियालिटी शोको फाइनलमा पुगेका कृषि शाखा भद्रपुरका कर्मचारी सुमन बिमलीलाई जिताउन एक बोट, एक भोट गर्न आव्हान गरिएको थियो । 

सम्बन्धित समाचार