२०८३ जेष्ठ २३ गते , शनिबार
छाताको डन्डीभित्र ब्राउन सुगर ल्याउने युवक भद्रपुरमा पक्राउ
भद्रपुर । झापाको भद्रपुरस्थित मेची पुलबाट प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ करिब ७ः५० बजे भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका मेचीनगर नगरपालिका–१० निवासी ३२ वर्षीय सुरेन्द्र गुरुङलाई शंकाको आधारमा जाँच गरेको थियो।
जाँचका क्रममा गुरुङले बोकेको छाताको डन्डीभित्र प्लास्टिकको पोकोमा लुकाएर ल्याउँदै गरेको ब्राउन सुगर जस्तो देखिने ३ ग्राम १२० मिलिग्राम लिसाइलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको पदार्थसहित गुरुङलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ।