चारआलीमा टेलिकमको केबल चोरी गर्दै गरेका दुईजना पक्राउ
मेचीनगरको चारआलीमा बिजुलीको पोलबाट नेपाल टेलिकमको केबल चोरी गर्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मेचीनगर नगरपालिका–१३ चारआली बजारस्थित लक्ष्मी डिपार्टमेन्ट अगाडि रहेको पोलबाट नेपाल टेलिकमको केबल चोरी गर्ने मेचीनगर नगरपालिका–६ निवासी २३ वर्षीय संगम शेर्पा र मेचीनगर नगरपालिका–१५ निवासी २१ वर्षीय मणिराज राजवंशी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार आइतबार बिहान करिब ४ः३० बजे नेपाल टेलिकमको ३५ मिटर केबल काटेर चोरी गरिरहेको अवस्थामा प्रहरी चौकी चारआलीबाट खटिएको गस्ती टोलीले दुई जनालाई रंगेहात पक्राउ गरेको थियो । प्रहरीले घटनास्थलबाट चोरीमा प्रयोग गरिएको तथा चोरी गरिएको सामग्रीसमेत बरामद गरेको छ।
बरामद सामग्रीमा ३५ मिटर नेपाल टेलिकमको केबल, दुई थान ह्याक्सो ब्लेड र एक थान तार काट्ने कटर रहेको प्रहरीले जनाएको छ। घटनापछि उनीहरूमाथि इलाका प्रहरी कार्यालय धुलाबारीले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ। झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।